काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले हालसम्मका नेपाली ओलम्पियनलाई साउन महिनादेखि आजीवन मासिक भत्ता उपलब्ध गारउने भएको छ । आइतबार एक कार्यक्रमबीच ओलम्पियनलाई साउन महिनाको भत्ता उपलब्ध गराइएको थियो ।
राखेपले ८० ओलम्पियनलाई जनही ३ हजारका दरले रकम उपलब्ध गराइएको हो । नेपालले सन् १९६४ को टोकियोमा भएको ओलम्पिकदेखि सहभागिता जनाउन सुरु गरेको थियो ।
यस्तै राखेपले पहिलो दक्षिण एसियाली खेलकुद (साग) देखि १२ औं सागका स्वर्ण विजेतालाई पनि पुरस्कृत गरेको छ । ९४ स्वर्णधारीलाई एक स्वर्णका लािग मासिक ५ हजारका दरले कुल ४० लाख रुपैयाँ वितरण गरियो । २०७४ मंसिरदेखि २०७५ असारसम्म जम्मा ८ महिनाको मासिक ५ हजारका दरले दिनु पर्ने पुरस्कार वितरण गरिएको हो ।
राखेपले एसियाली खेलकुदका पदक विजेतालाई पनि २०७४ मंसिर देखि २०७५ असारसम्म ८ महिनाको एक पदकका लागि ५ हजारका दरले रकम प्रदान गरेको छ । राखेपले ८ जनालाई जम्मा ४ लाख ४० हजार रुपैयाँ वितरण गरेको हो ।
त्यस्तै राखेपले राखेप च्याम्पियनसिपका विभिन्न खेलका उत्कृष्ट पुरुष र महिला खेलाडीलाई पुरस्कृत गरेको छ । गत माघको पहिलो साता सम्पन्न भएको एक महिने प्रतियोगितामा विभिन्न ३० खेल समावेश थिए । ३० खेलकै उत्कृष्ट पुरुष÷महिला खेलाडीले जनही १५ हजार नगद पाए । तेक्वान्दोको हकममा भने ग्योरोगी र पुम्सेमा छुट्टै उत्कृष्ट पुरुष÷महिला खेलाडी चयन गरिएकोले चारैलाई जनही ७ हजार ५ सय नगद पुरस्कार दिइयो ।
सोहि कार्यक्रममा राखेपले प्रदेश ५ मा मंसिरमा हुने आठौं राष्ट्रिय खेलकुदका लोगो र मस्कट डिजाइनर तथा गीत र नाराका रचनाकारलाई पनि सम्मान गरेको छ । आठौं खेलकुदको लोगो र मस्कट सन्तोष विष्टले डिजाइन गरेका थिए । विष्टलाई लोगोका लागि ४५ हजार र मस्कटका लागि ३५ हजार नगद पुरस्कारसहित सम्मान गरियो ।
त्यस्तै गीत रचनाकार नारायण खतिवडालाई २५ हजार र नारा रचानाकार राखेपका सदस्य–सचिव केशवकुमार विष्टलाई ५ हजार नगदबाट पुरस्कृत गरियो । सदस्य–सचिव विष्टले भने आफ्नो पुरस्कार रकम राखेपकै खातामा जम्मा गरिदिएका छन् । सोही अवसरमा संगीतकार बसन्त सापकोटालाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।