काठमाडौं । वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई मनकामना गार्मेन्टले खेल पोशाक सहयोग गरेको छ ।
नेपाली टिमलाई गार्मेन्टले २५ सेट ट्रयाक सुट सहयोग गरेको हो । गार्मेन्टका प्रतिनिधि सुमित प्रधानले करिब ८५ हजार बराबरको ट्रयाक सुट नेपाली टोलीलाई हस्तान्तरण गरे ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टिमलाई हौसला प्रदान गर्न खेल पोशाक सहयोग गरिएको गार्मेन्टले जनाएको छ ।
थाइल्याण्डमा रहेको नेपाली टिम भोलि (सोमबार) नेपाल फर्कदै छन् । नेपाली टिम गत असोज २९ गते थाइल्याण्ड प्रस्थान गरेका थिए ।
नेपालले बैंककमा थाइल्याण्डको राष्ट्रिय टिम, जापानको उमेर समूह, युनिभर्सिटी लगायतका विभिन्न टिमसँग ७ मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले ४ जित र ३ हार व्यहोरेको थियो ।
अब नेपालले कात्तिक २२ देखि २७ गतेसम्म हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल खेल्नेछ । यस्तै मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमीमा हुने सागमा प्रतिस्पर्धा गर्नेछ ।