काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली राष्ट्रिय बिच भलिबल टिमले श्रीलंकामा विशेष तयारी गर्ने भएका छन् ।
सागका लागि छनोट भएका पुरुष र महिला बिच भलिबल टिम आइतबार श्रीलंका जाने छन् । श्रीलंका जाने नेपाली टोलीलाई नेपाल भलिबल संघले शनिबार विदाई गरेको छ । ८ खेलाडीसहित १२ सदस्सीय नेपाली टिम श्रीलंका जाने छन् ।
श्रीलंका जाने पुरुष टिममा राष्ट्रिय भलिबल टिमका पूर्व सदस्य समेत रहेका मान बहादुर श्रेष्ठ, सञ्जु बिक्रम शाह, दिल सुनुवार र राजु विक छनोट भएका छन् ।
यस्तै महिलातर्फ पूर्व राष्ट्रिय भलिबल टिमकी कप्तान समेत रहेकी बिनिता बुढाथोकी, पूर्व राष्ट्रिय टिमका सदस्य कोपिला उप्रेती, नेबिका चौधरी र मनिषा चौधरी रहेकी छिन् ।
नेपाली टिमको प्रशिक्षण र मैत्रीपूर्णको तालिका भने श्रीलंका पुगेपछि मात्र तय हुने बताईएको छ । नेपाली टिम कात्तिक २७ गते नेपाल फर्कने छ ।
१३ औं साग मंसिर १५ देखि २५ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुनेछ ।