एजेन्सी । बेलायतका गेराइन्ट थोमसले विश्वको चर्चित साइकल र्याली टुर डे फ्रान्सको उपाधि जितेका छन् । पेरिसमा शनिबार २० औं चरणको रेसमा तेस्रो भएपनि समग्रमा शीर्ष स्थानमा रहदै थोमसले उपाधि जितेका हुन् ।
टिम स्काईका राइडर थोमसले ८० घण्टा ३० मिनेट ३७ सेकेण्डको समय निकाले । थोमसले नेदरल्याण्डका टोम डुमोलिनलाई १ मिनेट ५१ सेकेण्डले पछि पार्दै उपाधि जितेका हुन् । यस्तै साबिकको बिजेता क्रिस फ्रुम तेस्रो स्थानमा रहे । फ्रुम थोमसभन्दा २ मिनेट २४ सेकेण्डले पछि परेका थिए ।
३२ बर्षीय थोमसले पहिलोपटक टुर डे फ्रान्सको उपाधि जितेका हुन् । पहिलोपटक उपाधि जितेपछि थोमसले आफुले विश्वास गर्न गार्हो भएको बताए । 'यो पागलपन हो । टुर डे फ्रान्स, मैले विश्वास गर्न सकिरहेको छैन,' थोमसले भने, 'म आशु रोक्न खोजिरहेको छु । यो अविश्वसनीय छ । मैले यसको बारेमा सोचेकै थिएन । मैले टुर डे फ्रान्स जितेको छु ।'
योसंगै थोमस टुर डे फ्रान्स जित्ने तेस्रो ब्रिटिस खेलाडी बनेका छन् । पछिल्लो सात बर्षमा ६ पटक ब्रिटिस खेलाडीले टुर डे फ्रान्सको उपाधि जितेका छन् । पछिल्लो सात बर्षमा साबिकको बिजेता फ्रुमले मात्र ४ पटक जितेका थिए ।