काठमाडौं। प्रथम राष्ट्रिय बाघचाल प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रगतिवादी युवा समाज नेपालको आयोजनामा भएको प्रतियोगितामा ११४ प्रतियोगीहरुको सहभागिता रहेको थियो ।
काठमाडौंको बसुन्धारस्थित चन्द्रविन्दु स्कूलमा आयोजना भएको प्रतियोगिताको फाइनलमा उमेर समूह अन्तर्गत १८ वर्ष मुनिका रेहान मिया प्रथम भएका छन् । त्यस्तै, दोस्रो र तेस्रोमा क्रमशः विवश खकुराल र पासाङ तामाङ विजयी भएका छन् ।
१८ वर्ष माथि उमेर समूहमा सागर महर्जन प्रथम भएका छन् पानभाई पोडे र विष्णु थिङ क्रमशः दोस्रो तेस्रो भएका छन् ।
कार्यक्रममा ८ वर्ष उमेरदेखि ८४ वर्षसम्मका खेलाडीहरुको सहभागिता रहेको आयोजक प्रगतिवादी युवा समाज नेपालका सचिव समिर गौतमले बताए ।
विजेतालाई प्रगतिवादी युवा समाजका अध्यक्ष प्रविण बस्नेतले नगद पुरस्कार वितरण गरे ।
उक्त अवसरमा १२ जना पूर्व राष्ट्रिय खेलाडी र बाघचालको कम्युटर गेम बनाउने रघुनाथ ढुङ्गेललाई सम्मान गरिएको छ । सम्मानित खेलाडीमा पूर्व राष्ट्रिय भलिबल खेलाडी भरत शाह, क्रिकेटका विनोद कुमार दास, जीत बहादुर केसी, ममता चौधरी, सारादेवी तामाङ, आङ बाबु लामा लगायत रहेका छन् । सम्मानित हुने खेलाडीमध्ये दिपक महर्जन र दिपक बिष्ट विदेशमा रहेकाले अनुपस्थित भएका थिए ।
जरो किलो महाअभियानका अध्यक्ष डा. निर्मलमणि अधिकारीले पूर्व खेलाडीलाई खादा ओडाई सम्मानपत्र प्रदान गरेका छन् ।