काठमाडौं । राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशवकुमार विष्टले खेलकूद संघको नाउँमा विदेश जाने उद्धेश्यले खोलेका, सम्पर्क कार्यालय नभएका र काम नगर्ने झोले खेलकूद संघलाई क्रमशः खारेज गरिँदै लगिएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने बताएका छन् ।
टग अफ वार एशोसियसन (तान डोरी संघ) काठमाडौंको आयोजनामा विभिन्न विद्यालयका प्रिन्सिपलहरुको लागि आयोजित एकदिने ‘खेलकूद विज्ञान तथा प्राविधिक गोष्ठी’ को उद्घाटनका अवसरमा सदस्य सचिव विष्टले सो कुरा बताएका हुन ।
सम्वन्धित खेलको विकास गर्दै खेलाडी उत्पादन गर्ने उद्धेश्य राखी सञ्चालन गर्नुपर्ने खेलकूद संघ नाम मात्रैको संस्था खोलेर काम नगरेकै कारण आफु सदस्य सचिव भएर आएको ३ वर्षको अवधिमा २५ वटा त्यस्ता संस्था खारेज गरिसकेको पनि सदस्य सचिव विष्टले बताए ।
हालसम्म अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा पुरुषको तुलनामा महिला खेलाडीले बढी पदक जितेको उल्लेख गर्दै सदस्य सचिव विष्टले पुरुषको साथै महिला खेलाडी उत्पादन गर्ने र नियमितरुपमा प्रतियोगिता आयोजना गर्ने कार्यमा संघ सकृय भएमा परिषदले आर्थिक अनुदानदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालीममा प्रशिक्षक सहभागी गराउन परिषदले कुनै कसर बाँकी नराख्ने पनि उनले बताए ।
सरकारले विरामीको उपचारका लागि अस्पताल खोल्नुभन्दा रंगशाला बनाएर स्वस्थ र निरोगी खेलाडी उत्पादन गर्नुपर्ने पनि विष्टले औंल्याए ।
सदस्य सचिव विष्टले गोष्ठीका सहभागी करीव ४ दर्जन प्रिन्सिपल तथा प्रशिक्षकहरुलाई प्रमाणपत्र पनि वितरण गरे ।
एशियाली टग अफ वार एशोसियसनका उपाध्यक्ष भवानीप्रसाद पौडेलले खेलकोे विकासको लागि समयसमयमा विभिन्न प्रतियोगिता आयोजना गरि खेलाडी उत्पादन गर्दै खेललाई जीवन्त राख्नुपर्ने कुरामा जोड दिए ।
त्यस अवसरमा एशियाली टग अफ वार एशोसियसनका कोषाध्यक्ष तथा टग अफ वारका वीज्ञ केशवराज गौतमले टग अफ वारका विभिन्न विधा र नियमबारे प्रशिक्षण दिएका थिए ।
टग अफ वार एशोसियसन नेपालका केन्द्रीय अध्यक्ष सुर्य भटटराईका अनुसार हाल २० वटा जिल्लामा संघको पुर्नगठन भईसकेको र बाँकी जिल्लाहरुमा पुर्नगठनको कार्य भइरहेको छ ।