एजेन्सी । रुसले प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग (डोपिङ) मा महत्वपूर्ण सुधार गरेको इन्टरनेशनल एसोसिएसन अफ एथलेटिक्स फेडेरेशन (आइएएएफ) ले जनाएको छ ।
जर्मनीको बर्लिनमा हुने एथलेटिक्सको युरोपियन च्याम्पियनसिप अघि आइएएएफले रुसले सुधार गरेको बताएको हो । तर, रुस एथलेटिक्स संघमाथि लागेको प्रतिबन्ध कायम रहने भएको छ । प्रतिबन्ध कायम भएसंगै १० दिनपछि हुने युरोपियन च्याम्पियनसिपमा रुसी खेलाडीले सहभागिता जनाउने छैनन् ।
आइएएएफका अध्यक्ष लोर्ड कोइले रुसमा मुख्य क्षेत्रमा सुधार गरेको तर त्यहाँ अझै कमजोरी रहेको बताए । उनले भने, 'उनीहरुले मुख्य क्षेत्रमा प्रगति गरिरहेको छ । तर, त्यसो हैन कि, प्रत्येक क्षेत्रमा मापदण्ड पुरा भएको छ । त्यहाँ अझै कमीकमजोरी रहेको छ ।'
एथ्लेटिक्स खेलको सर्बोच्च निकाय आइएएएफले रुस एथ्लेटिक्सलाई सन् २०१५ बाट प्रतिबन्ध लगाउदै आएको छ । सरकारकै संलग्नतामा रुसी खेलाडीले विभिन्न प्रतियोगितामा प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गर्ने पाइएपछि आइएएएफले सन् २०१५ को नोभेम्बरमा प्रतिबन्ध लगाएको थियो ।
सन् २०११ देखि २०१५ सम्म रुसका हजार भन्दा धेरै खेलाडीले सरकारी संलग्नतामै प्रतिबन्धित औषधि प्रयोग गरिरहेको तथ्य एक स्वतन्त्र सस्था बिश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले सार्वजनिक गरेको थियो । वाडाको रिपोर्ट बाहिर आएपछि आइएएएफले एक हजार बढी रुसका खेलाडीहरुको डोपिङ प्रशिक्षण गर्दा रुसका अधिकांस खेलाडीले प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरेको पाइएको थियो ।
प्रतिबन्धकै कारण रुसले गत बर्षको अगष्टमा भएको विश्व च्याम्पियनसिप खेल्न पाएको थिए । प्रतिबन्धकै कारण रुसले दुई बर्षअघिको ब्राजिलमा सम्पन्न रियो ओलम्पिकमा सहभागी हुन पाएको थिएन ।