काठमाडौं । इन्डोनेसियामा आयोजना हुने १८ औं संस्करणको एसियन गेम्समा नेपालले एजिलिटी कम्पनीको खेल पोशाक लगाउने भएको छ । एजिलिटी एसियन गेम्सको पोशाक प्रायोजक बनेपछि नेपालले एजिलिटीको खेल पोशाक लगाउने भएको हो ।
नेपाल ओलम्पिक कमिटि (एनओसी) ले शुक्रबार एजिलिटी हेल्थ एण्ड वेलनेस कर्पोरेसनसंग प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । एनओसीका अध्यक्ष जीवन राम श्रेष्ठ र एजिलिटी प्रमुख अल्फ्रेड चानले सम्झौता पत्रमा हस्ताक्षर गरे । एनओसीको पहलमा चिनियाँ कम्पनि एजिलिटीले नेपाललाई प्रायोजन गरेको हो ।
सम्झौता पत्रमा हस्ताक्षर भएसंगै एजिलिटीले नेपालले एसियन गेम्समा सहभागिता जनाउने सबै खेलका खेलाडी तथा पदाधिकारीहरुलाई पोशाक उपलब्ध गराउने छन् । सम्झौतामा एजिलिटीले विभिन्न ७ थरीका पोशाक उपलब्ध गराउने बताईएको छ । जसमा ब्याग, क्याप, ट्रयाक सुट, सर्ट, टि सर्ट, जुत्ता र मोजा रहेको छ । जसको कुल मूल्य ८० लाख बराबरको रहेको छ ।
इन्डोनेसियाको जाकर्ता र पलेङ्गवाङ्ग हुने एसियन गेम्स भदौ २ देखि १६ गतेसम्म हुँदैछ । नेपालले २९ खेलमा सहभागिता जनाउदै छ । जसमा १२८ पुरुष र ५७ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । एसियन गेम्सको लागि नेपाली खेलाडीहरु विशेष प्रशिक्षणमा रहेका छन् । अहिले नेपालका अधिकास खेलका खेलाडीहरु बैदेशिक प्रशिक्षणमा रहेका छन् ।