काठमाडौं । सामान्यतया फुटबलमा प्रशिक्षक परिवर्तन भएसंगै त्यसको प्रभाव मैदानमा देखिन्छ ।
नयाँ प्रशिक्षकले खेलाउने शैली, अभ्यास गराउने तरिका र छनोट गर्ने खेलाडीले टिममा सामान्य उथल पुथलनै पार्छ ।
नेपाल फुटबलमा समेत जब विदेशी प्रशिक्षक आईपुग्छन्, राष्ट्रिक टिममा केही फेरबदल देखिहाल्छ ।
नेपाली फुटबलको लगाम यतिबेला योहान कालिनको हातमा छ । उनैले नेपाली फुटबललाई अन्तराष्ट्रिय मैदानमा दौडाईरहेका छन् ।
फिटनेस, नेपाली फुटबलरको सधैको समस्या हो ।
नेपालमा घरेलु प्रतियोगिता नियमित छैनन् । खेलाडीले फुटबलनै खेल्न नपाउने स्थिती केही समय अगाडी सम्म थियो । यस्तो अवस्थामा खेलाडीमा फिटनेसको समस्या बल्झिनेनै भो ।
जब कालिन राष्ट्रिय टिम सम्हाल्न नेपाल आए, उनले फिटनेसलाई मुख्य आधार बनाए ।
उनले सुरुमै फिटनेसकै कारण विमल घर्तिमगर र भरत खवास जस्ता खेलाडीलाई टिम बाहिर राखिदिए ।
उनकोे प्रष्ट सन्देश थियो, फिट नहुने खेलाडीलाई राष्ट्रिय टिममा कुनै स्थान छैन ।
अहिलेको राष्ट्रिय टिम हेर्नुस न ।
फिटनेसमा सानो लापरबाही गर्दा नियमित कप्तान विराज महर्जन टिम बाहिर छन् ।
कालिनले विराज जस्ता अनुभवी खेलाडी र कप्तानलाई समेत टिम बाहिर राख्ने जोखिम मोलेका छन् ।
कालिनले खेलाडीको फिटनेसलाई प्राथमिकतामा मात्र राखेनन्, खेलाडीको स्तर उकास्न बिशेष जोड दिएका छन् ।
उनले फिटनेसमा उत्कृष्ट देखिएका खेलाडीलाई पहिलो रोजाईमा राखेका छन् ।
तीनै मध्यका एक खेलाडी हुन्, रवि पासवान ।
कालिन नेपाल के आए, रविको त भाग्यनै बदलियो ।
तिव्र गतिमा बल दौडाउन सिपालु रवि प्रशिक्षक कालिनको नजरमा परेहाले । अझ रविको फिटनेसले कालिनकाे ध्यान खिच्न सफल भयाे ।
त्यसयता कालिन नेतृत्वको टिममा रविले नियमित जस्तै स्थान बनाउँदै आएका छन् ।
कालिन आएपछि हो, रवि पहिलो पटक राष्ट्रिय टिममा परेको ।
कालिनले पहिलो पटक कुवेत भ्रमण गर्दा रविलाई राष्ट्रिय टिमबाट डेब्यु गराएका थिए ।
खेलको ६१ औै मिनेटमा सुमन लामाको स्थानमा रविले मैदान छिर्दै राष्ट्रिय टिमबाट डेब्युको मौका पाएका थिए ।
‘सुरुमा सेटमा त खेल्न पाईन । तर खेल्न पाएपनि खेल बिग्रने हो कि भन्ने डर थियो । तर मैदान छिरेपछि ढुक्कसाथ खेले ।‘ रविले डेब्युको क्षण खेलपाटीसंग सुनाए ।
रवि यसअघि एक पटक मात्रै राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेका थिए ।
रविको जन्म पुर्वी तराईको बारा जिल्लामा भयो । उनी सानै उमेरमा गाउँ घरमा फुटबल खेल्थे ।
तर सुरु सुरुमा रविको काम फुटबल खेल्ने भन्दा पनि मैदान बाहिरको बल टिप्ने हुन्थ्यो ।
धेरै समय उनले मैदान बाहिरको बल बटुल्दैमा बिताएका थिए ।
जब खेलाडी विश्राम लिन्थे, रविले बल खेलाउन पाउथे । त्यही समय उनी सिनियर खेलाडीको नजरमा परेका थिए । कक्षा ८ मा पढ्दै गर्दा रविले गाउँकै उम्जन क्लबमा खेल्ने मौका पाएका थिए ।
विस्तारै टोली, जिल्ला हुदै मोफसलका प्रतियोगितामा उनी देखिन थाले ।
रविले जन ज्योति क्लबबाट बारामै हुने सिमरा गोल्डकप खेले ।
लगत्तै मोफसलको टिम जन ज्योतिले पोखरामा आहा रारा गोल्डकप खेल्ने तय भयो । रविले गृह जिल्लाकै टिमबाट आहा रारा गोल्डकपमा सहभागिता जनाए ।
पोखरामा आयोजकविरुद्व रविले सुरुवाती चौथो मिनेटमै गोल गरेका थिए ।
उनको टिम प्रतियोगितामा धेरै अघि बढ्न सकेन । तर रविले पोखराबाटै फुटबल करियरको लामो यात्रा तय गरिसकेका थिए ।
पोखरामा गरेको प्रर्दशनकै आधारमा घरेलु फुटबलकै लोकप्रिय क्लब मनाङ मस्र्याङ्दी क्लबले उनलाई टिममा अनुबन्धन गर्यो ।
मुख्य प्रशिक्षक राजु काजी शाक्यले रविलाई पहिलो पटक मनाङमा अवसर दिए ।
मनाङमा रहँदा रविले घरेलु लिगमा आफुलाई प्रमाणित गरे ।
दुई बर्षसम्म मनाङबाटै खेले ।
राष्ट्रिय लिग सकिने बित्तिकै उनी मोफसल प्रतियोगिता खेल्न थाले ।
मनाङले सुनसरीमा हुने सताक्षी गोल्डकप नखेल्ने भयो ।
रविलाई विभागीय टिम पुलिस क्लबले खेल्न बोलायो ।
रविले पुलिसबाट प्रतियोगिता खेल्ने निर्णय लिए । युवा खेलाडी प्रेरित पुलिसले उपाधिनै जित्न सफल भयो ।
रवि प्रतियोगिताको सर्बाेत्कृष्ट स्ट्राइकर र हाई स्कोरर चुनिए ।
एउटा गोल्डकप खेल्न पुलिस आएका रविलाई विभागीय टिमले क्लबमा बस्न अनुरोध गर्यो । रविले पनि पुलिसमा जागिर गर्दै खेल्ने मनसाय बनाए । त्यसयता उनी पुलिसमै छन् ।
पुलिसका आबद्व रविले राष्ट्रिय टिमबाट समेत आफुलाई प्रमाणित गर्दै आईरहेका छन् ।
कालिनका प्रिय
कालिनको आगमनसंगै रवि राष्ट्रिय टिममा उदाएका खेलाडी हुन् । कालिनको नेतृत्वमा नेपालले ५ मैत्रिपूर्ण सहित ८ खेल खेलेको छ । रवि कालिनको पहिलो रोजाईका खेलाडी बन्दै आएका छन् । कालिनको आएपछि रविले पछाडी फर्किएर हेर्न परेको छैन ।
रविको फिटनेस र पेससँगै सहजै डिफेन्स र मिडफिल्डमा (अप डाउन) गर्ने कलाबाट कलिन प्रभावित छन् । रविको पेस र फिटनेसको प्रशंसा गर्ने कालिन बल क्रस गर्दा दिमाग लगाएर खेल्न रविलाई आग्रह गर्छन् ।
‘पेस र अप डाउनमा राम्रो देखिएको छ । कमजोरी बल क्रसमा हो । त्यसैले दिमाग लगाएर खेल्न प्रशिक्षकको सुझाव छ ।’ रवि खेलबारे भन्छन् ।
‘बेला बेलामा गाउँले पारा पनि आयो भनेर प्रशिक्षकले भन्नु भएको छ । अव त्यसलाई सुधार गर्नुपर्नेछ ।’ रवि मुस्कुराउँदै सुधार गर्नुपर्ने ठाँउ बताउँछन् ।
फिटनेसमा अब्बल
जब प्रशिक्षकमा कालिन आए, फिटनेसलाई पहिलो शर्त राखे ।
कालिनले सुरुमै खेलाडीको फिटनेश जाँच गरे ।
लगातार ७ बर्ष राष्ट्रिय टिममा रहेका फरवार्ड विमल घर्ति मगर, कप्तान विराज महर्जन लगायतका खेलाडी असफल देखिए । रविले भने आफुलाई प्रमाणित गरे ।
खेलाडीको फिटनेसको कुरा गर्दा पहिलो नम्बरमा रोहित चन्द पर्छन् । त्यसपछि आउछन्, रवि । खेलाडीको फिटनेश जाँच गर्न फिफाले ‘योयो’ टेष्ट प्रयोगमा ल्याएकोे छ ।
जसमा युरोपेली खेलाडी (रोनाल्डो, मेसी)को औसत गति प्रतिघण्टा २३–२४ दौडने गर्छन् ।
एसियाली मुलका राम्रा फुटबलरको औसत गति प्रतिघण्टा २०–२१ रहने देखिएको छ ।
त्यो गति नेपाली फुटबलमा रोहित र रविमा देखिन्छ ।
नेपाली टिमको फिटनेश प्रशिक्षक रहि सकेका विवेक बिक्रान्त अधिकारी पनि रविमा नेपाली खेलाडीमध्ये सबैभन्दा धेरै शक्ति भएको खेलाडी मान्छन् ।
‘रविसंग जसरी ९० मिनेट दौडेर खेल्न सक्ने शक्ति छ, त्यो अन्य खेलाडीको भन्दा राम्रो छ ।’ अधिकारी भन्छन् ।
रवि आफ्नो गतिलाई ‘गडगिफ्ट‘ मान्छन् ।
रवि स्कुलमा एथलेटिक्सका खेलाडी थिए । विद्यालय र जिल्ला स्तरको छोटो तथा मध्य दुरीको दौडमा उनी सधै प्रथम हुन्थे । तर फुटबलमा लागेपछि उनले एथ्लेटिक्स छाडिदिए ।
अब उनलाई फुटबलको मैदानमा हजाराै माईलको दुरी पार गर्नुछ ।