एजेन्सी । स्विस खेलाडी रोजर फेडेररले टोरन्टोमा हुने रोजर्स कप टेनिसबाट नाम फिर्ता लिएका छन् । लगातारको प्रतियोगिता र व्यस्त खेल तालिकालाई मध्येनजर गर्दै फेडेररले रोजर्स कपबाट नाम फिर्ता लिएका हुन् ।
विश्व टेनिसको एपिटी टुर अन्तर्गतको रोजर्स कप अगष्ट ६ देखि १२ सम्म हुँदैछ । दोस्रो बरियताका फेडेररले भनेका छन्, 'म निकै निराश छु, किनकी यो समरमा हुने रोजर्स कप म खेल्ने छैन । गत बर्ष मोन्ट्रेरियलमा निकै उत्कृष्ट भएको थियो । म क्यानाडाको समर्थकसंग सधै खेल्न मन पराउछु । तर, बाँकी बर्षको लागि मैले यो बर्ष नाम फिर्ता लिने निर्णय गरेको छु ।'
यस्तै फेडेररले रोजर्स कपको सफलताको लागि शुभकामना समेत दिएका छन् । रोजर्स कपमा शीर्ष बरियताका राफायल नाडाल, विम्बल्डन च्याम्पीयन नोभाक जोकोबिच लगायत शीर्ष १० मा रहेका खेलाडीले खेल्ने छन् ।
३६ बर्षिय फेडेररले यो बर्ष ७ ठुला प्रतियोगिता खेलिसकेका छन् । २० पटकको ग्राण्डस्लाम बिजेता फेडेररले गत महिना विम्बल्डन टेनिस खेलेका थिए । तर, फेडेररले क्वाटरफाइनलसम्मको यात्रा मात्र तय गरेका थिए ।