काठमाडौं । इन्डो–नेपाल स्टेन्डिङ क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ । आइतबार भएको पहिलो खेलमा नेपाल भारतसँग ६१ रनले पराजित भयो ।
जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा भारतले दिएको १५६ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । जितसँगै भारतले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
नेपालका लागि प्रदीप रिजालले अविजित ३१ रन बनाए । यसैगरी समन बरालले ११ रन जोडे । भारतका इमरान मल्लिकले तीन विकेट लिए ।
यसअघि भारतले निर्धारित १५ ओभरको खेलमा चार विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो । भारतलाई विशाल योगफलसम्म पुर्राउन कप्तान यादवुन्दर सिंह खेराले अविजित ४७ रन बनाए ।
यसैगरी सुरेन्द्रर मेहराले ३६ र याहराले १२ रन बनाए । नेपालका आरपी खरेल, तपरेस अन्सारी र ऋषिकेस कुर्मीले एक/एक विकेट हात पारे ।
आइतबारको खेलको म्यान अफ दी म्याच भारतीय टोलीका कप्तान यादवुन्दर सिंह खेरा घोषित भए । उनलाई सुशील कोइराला फाउन्डेसनका सदस्यसचिव अतुल कोइरालाले ट्रफी प्रदान गरे ।
सिरिज अन्तर्गत सोमबार दोस्रो र मंगलबार तेस्रो खेल हुनेछ । नेपालमा पहिलो पटक भएको स्टेन्डिङ क्रिकेट १५ ओभरको रहेको छ ।
सिरिज व्हीलचेयर क्रिकेट एसोसिएसन नेपालले आयोजना गरेको हो ।