एजेन्सी । चेल्सीका नयाँ प्रशिक्षक मौरीजियाने सारीले बेल्जियम स्टार इडेन हजार्डलाई क्लबमा राख्न चाहेको बताएका छन् । पछिल्लो समय स्पेनिस क्लब रियल मड्रिडसंग जोडिएका हजार्डले स्टामफोर्ड ब्रिजमा ६ बर्ष बिताएपछि केही नयाँ खोज्ने समय आएको बताएका थिए ।
लण्डन क्लब चेल्सी समाल्न आईपुगेका सररीले हजार्ड युरोपेली क्लब फुटबलका उत्कृष्ट खेलाडी मध्य एक भएको बताउदै उनलाई क्लबमै राखेर थप सुधार गर्न चाहको बताए ।
नेपोलीका पुर्व प्रशिक्षक समेत रहेको सरीले भने, ‘उनी एक उच्च स्तरका खेलाडी हुन् । मलाई आशा छ, उनलाई सुधार गर्नकालागि मैले व्यवस्था गर्नेछु ।’
बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिन्जले स्पेनिस रेडियोसंग कुरा गर्दै हजार्डले आफ्नो करियरलाई अगाडी बढाउन चेल्सीको बिषयमा सोच्नुपर्ने बताएका थिए ।
सरीले आफु हजार्डसंग भेट गर्न चाहेको उल्लेख गर्दै आफु प्रष्ट लक्ष्यकासाथ क्लब समाल्न आएको बताएका छन् । विश्वकपमा बेल्जियमबाट सहभागिता जनाएका हजार्ड अहिले छुट्टी मनाईरहेका छन् ।
‘उनीसंग भेटेर म रमाईलो गर्न चाहन्छु । यसले राम्रो नतिजा दिनेछ र हामी सिजनको दौरान प्रतिस्पर्धी देखिनेछौ ।’ उनले भने ।