काठमाडौं । महिला पारा पावरलिफ्टीङ खेलको प्रशिक्षण सुरु भएको छ । राष्ट्रिय पारा पावरलिफ्टीङ संघको आयोजनामा शुक्रबारबाट प्रशिक्षण सुरु भएको हो ।
नेपालमा पारा महिला पावरलिफ्टीङ खेलाडी उत्पादन गर्ने उद्धेशयले आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा नेपालका कम्मरदेखि मुनिका भाग कमजोर रहेका करिव २५ पारा खेलाडी र प्रशिक्षकहरुले तीन दिन सम्म प्रशिक्षण लिने छन् । जसबाट नेपालमा पारा पावरलिफ्टीङका खेलाडीहरुको विकास र विस्तार हुने विश्वास लिईएको छ ।
तीन दिन सम्म संचालन हुने प्रशिक्षण कार्यक्रममा सहभागिलाई अन्तराष्ट्रिय टेक्निकल अफिसियल मलेसियन नुर साहिदा माट शाहले सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गर्ने छिन् । शाह १० बर्ष देखि पारा पावरलिफ्टीङमा लागि रहेकी छिन् ।
विभिन्न देशमा विकलाङ रहेका खेलाडीहरुलाई हौसाला प्रदान गर्दै उनीहरुमा आत्मविश्वासको विकास गर्दै पावरलिफ्टीङमा लगाउने उद्धेश्यले कार्यक्रम आयोजना भई रहेको र नेपालमा पनि यस खेलको विकासका लागि आफु आएको उनले बताईन् । उनले आफुले प्रदान गर्ने प्रशिक्षण खेलाडीहरु र प्रशिक्षकका लागि उपलब्धि मुलक हुने बताईन् ।
पारा खेलाडीहरुको विकास र विस्तारमा आफुलाई अग्रस्थानमा उभ्याएको संस्था एजिआईटिओएस फाउन्डेशनको सहयोगमा विश्वमा नै कार्यक्रमहरु संचालन भई रहेको राष्ट्रिय पारा पावरलिफ्टीङ्ग संघका अध्यक्ष टेकबहादुर गुरुङ्गले जानकारी गराए ।
हाल सय भन्दा बढि राज्यमा विकास भईरहेको पारा पावरलिफ्टीङ्गको विभिन्न १० शारिरीक तौल समूहमा एशियन तथा ओलम्पिकमा प्रतियोगिता हुँदै आईरहेको छ । १९६४ मा जापानमा सुरु भएको प्रतियोगिता सन् २०००मा सिड्नी ओलम्पिकमा महिला पावरलिफ्टीङ्ग प्रतियोगिताको आयोजना गरिएको थियो ।