एजेन्सी । ब्राजिली स्टार विलियनलाई भित्राउन स्पेनिस क्लब बार्सिलोनाले प्रक्रिया अघि बढाएको छ । स्पेनिस जायन्टले लण्डन क्लब चेल्सीका मिडफिल्डर विलियनलाई अनुबन्धनकालागि दोस्रो प्रस्ताव अघि सारेको छ ।
उसले आक्रमक मिडफिल्डर विलियनका लागि ६० मिलियन पाउण्ड खर्च गर्न तयार रहेको बताएको छ । बार्साले यसअघि समेत विलियनका लागि ५० मिलियन पाउण्डको प्रस्ताव गरेको थियो । सो प्रस्तावलाई चेल्सीले अस्विकार गरेको थियो ।
क्लब समाल्न आईपुगेका बार्सा प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले टिमको आक्रमक लाईनलाई धारिलो बनाउन प्रयास गरिरहेका छन् । सोही अनुसार आक्रमक मिडफिल्डरको छवि बनाएका विलियनमाथि उनले आखाँ गाढेका छन् ।
गत सिजन स्पेनिस लिगको उपाधि उचालेपनि बार्साको अग्रपङ्तीमा समस्या देखिएको थियो । आन्द्रे इनिष्टाको बिदाई र पाउलिन्होको चीनियाँ फर्काईले बार्सा नयाँ खेलाडीको खोजिमा छ ।
रुसी विश्वकपमा विलियन ब्राजिली टिमका मुख्य सदस्य थिए । विश्वकपमा समेत उनले उत्कृष्ट प्रर्दशन गरेका थिए । उनका ब्राजिली सहकर्मी काउटिन्हो बार्सिलोनामा आबद्ध छन् । सोही कारण काउटिन्होको जोडीको रुपमा विलियनलाई क्लबमा भित्राउन सकिने बार्सिलोनाको विश्वास छ ।