काठमाडौं । नेपालकै सर्वाधिक लोकप्रिय शारिरीक सुगठन प्रतियोगिता धर्मश्री आगामी असोज तेस्रो सातामा हुने भएको छ । नेपालकै पहिलो शारिरीक सुगठन संस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा हुने प्रतियोगिता धर्मश्री असोज १९ र २० गते आयोजना हुने भएको हो ।
राष्ट्रब्यापी खुल्ला प्रतियोगिताको रुपमा रहेको प्रतियोगितामा करिव ४०० खेलाडीहरुले विभिन्न ७ तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी र ८० केजी माथीको तौल समूहमा प्रतिस्पर्धा गराईने र प्रत्येक तौल समूहका पहिलो स्थान हात पार्ने खेलाडीहरुले ओभरअल राउण्डमा धर्मश्री उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजक मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी गराए ।
धर्मश्री प्रतियोगिताको १५ औं संस्करणसम्म आई पुग्दा शारिरीक सुगठनमा सर्वाधिक धनरासी पुरस्कार रहेको प्रतियोगिता भएको छ । धर्मश्री बिजेतालाई नगद ५ लाख सहित ट्रफी र ब्यानेटबाट सुसज्जित गरिने छ । यस्तै प्रतियोगितामा दोश्रो हुनेले २ लाख ५० हजार, तेश्रोले १ लाख ५० हजार, चौथोले १ लाख, पाँचौले ८० हजार, छैटौंले ७५ हजार र सातौं स्थान हात पार्नेले ६० हजार नगद तथा मेडल तथा अन्य पुरस्कार प्राप्त गर्ने छन् । यस्तै तौल समूहमा दोश्रो र तेश्रो हुनेले क्रमश नगद ३० हजार र २० हजारका साथै मेडल प्रमाण पत्र प्राप्त गर्ने छन् ।
बिगतमा विभिन्न संस्थाहरुले प्रायोजन गर्दै आएकोमा प्रायोजक संस्थाहरुलाई धन्यवाद प्रदान गदै आगामी दिनमा धर्मश्रीलाई लगातार ५ बर्षको प्रायोजन सम्झौता गर्ने संस्थाको नाममा प्रतियोगिता आयोजना गरिने मन्दिरका अध्यक्ष प्रधानले बताए । अध्यक्ष प्रधानले प्रतियोगिता प्रत्येक बर्ष आयोजना गर्ने उद्धेश्य रहेता पनि अध्याधिक धनरासीको प्रतियोगिता भएकाले आर्थिक अभावका कारण र प्रायोजकका कारण लगातार आयोजना गर्न नसकिएको समेत बताए ।
राष्ट्र, राष्ट्रियता तथा प्रजातन्त्र प्रति अमुल्य जीवनको आहुती दिनु हुने अमर शहिद तथा ब्यायामका प्रणेता धर्मभक्त माथेमाको स्मृतीमा २०४२ सालबाट यो प्रतियोगिता सुरु भएको हो ।