काठमाडौं । घरेलु मैदानमा जारी एसिया कप व्हिल चियर टी-ट्वान्टी क्रिकेटमा नेपाल जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
शुक्रबार भएको खेलमा पाकिस्तानसंग १३० रनको फराकिलो हार व्यहोरेपछि नेपाल जितविहीन बनेको हो ।
किर्तिपुरस्थित टियु मैदानमा पाकिस्तानले दिएको २७० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान दिगम सिंह चेम्जोङले ४७ तथा सागर पाण्डेले ३० रन बनाए । होमनाथ राईले १६ रन जोड्दा डम्बर मगरले १३ रन बनाए । पाकिस्तानका मोहमद फाइजले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर २६९ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद लातिफले १४६ रनको शतकीय इनिङ्स खेले । यस्तै साजद अलि अब्बासीले ६२ रनको अर्धशतकीय इनिङ्स खेले ।
नेपालका याम बहादुर श्रेष्ठ र डम्बर मगरले एक एक विकेट लिए ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल भारत र दोस्रो खेलमा बंगालदेशसंग पराजित भएको थियो । नेपालले प्रतियोगितामा अंक जोड्न सकेनन् ।
प्रतियोगितामा भारत यसअघि नै फाइनल पुगिसकेको छ । अब पाकिस्तान र बंगलादेशबीच एक टोलीले फाइनलमा स्थान बनाउने छन् ।