काठमाडौँ। राजस्थान रोयल्सका लेग स्पिनर युजवेन्द्र चहल इन्डियन प्रिमियर लिग (आईपीएल)मा २०० विकेट लिने पहिलो बलर बनेका छन्।
जयपुरमा भएको मुम्बई इन्डियन्सविरुद्धको खेलमा मोहम्मद नाबीलाई आउट गरेसँगै चहलले यो उपलब्धि हासिल गरेका हुन्। उनले १५३औँ खेलमा २०० विकेट लिएका हुन्।
मुम्बईविरुद्ध चहललाई आठौँ ओभरमा बलिङमा ल्याइएको थियो। उनले आफ्नो पहिलो ओभरको तेस्रो बलमा विकेट लिएका थिए। नाबीले लेग साइडमा खेल्न चाहेको बल ब्याटको माथिल्लो छेउमा लाग्दै चहलतर्फ फर्किएको थियो। उनले उक्त बल सहजै समाए।
गत सिजनमा चहलले ड्वेन ब्राभोलाई उछिन्दै आईपीएलमा सबैभन्दा बढी विकेट लिने कीर्तिमान बनाएका थिए। चहललाई मुम्बईले सन् २०११ मा पहिलोपटक अनुबन्ध गरेको थियो। तर, उनको आईपीएल डेब्यू सन् २०१३ मा भयो।
कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा चहलले ४ ओभर बलिङ गरेर कुनै विकेट लिन सकेनन्। यो उनको करिअरमा मुम्बईका लागि एक मात्र खेल थियो। त्यसपछि सन् २०१४ मा रोयल च्यालेन्जर्स बेंग्लुरूले चहललाई अनुबन्ध गरेको थियो। बेंग्लुरूबाट उनको आईपीएल करिअर शुरू गरेका थिए।
सन् २०१४-२०२१ बीचमा चहलले बेंग्लुरूबाट ११३ खेल खेल्दै २२.०३ को औसतमा १३९ विकेट लिए। यस अवधिमा उनले ७.५८ को प्रभावकारी इकोनोमीमा रन खर्च गरे।
उनी अहिले पनि आईपीएलमा बेंग्लुरूका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन्। आईपीएल २०२२ को मेगा अक्सनअघि बेंग्लुरूले चहललाई रिटेन गरेको थिएनन्। र, राजस्थानले उनलाई साढे ६ करोड भारूमा किनेको थियो।
चहल सन् २०२२ देखि लगातार राजस्थानबाट खेल्दै आएका छन्। त्यो वर्ष राजस्थानले फाइनल खेलेको थियो। जसमा चहलले ७.७५ को इकोनोमीमा २७ विकेट लिएर टोलीलाई ठूलो योगदान दिएका थिए।
सोही सिजनमा उनले कोलकाताविरुद्ध एकै खेलमा ५ विकेट लिएका थिए। पाँच विकेट लिएको यो खेलमा उनले श्रेयस अय्यर, शिवम मावी र प्याट कमिन्सलाई लगातार आउट गर्दै ह्याट्रिक विकेटसमेत लिएका थिए। सोही ओभरमा वेंकटेश अय्यर पनि आउट भएका थिए।