काठमाडौँ। कोलकाता नाइट राइडर्ससँग पराजित हुँदै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफ दौडबाट बाहिरिएको छ ।
शुक्रबार राति सम्पन्न खेलमा कोलकातासँग २४ रनले पराजित भएसँगै मुम्बई प्लेअफ दौडबाट बाहिरिएको हो। जारी सिजनमा मुम्बईको यो आठौँ हार हो।
११ खेल खेलको मुम्बई ६ अंकसहित नवौँ स्थानमा रहको छ। एक खेल कम खेलेको कोलकाता १४ अंकसहित शीर्ष दुईमा स्थान बनाएको छ।
योसँगै वानखेडे मैदानमा मुम्बईको प्रभुत्व समाप्त भएको छ। कोलकाताले पछिल्लो पटक १२ वर्षअघि यही मैदानमा उपाधि जितेको थियो । त्यसयता यो मैदानमा कोलकाताले मुम्बईलाई पराजित गर्न सकेको थिएन।
कोलकाताले दिएको १७० रनको ल्य पछ्याएको मुम्बईले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १४५ रन मात्रै बनाउन सक्यो।
मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ५६ रन बनाए। ३५ बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे। टिम डेविड २४ रनमा आउट हुँदा अन्यको प्रदर्शन राम्रो रहेन।
कोलकाताका मिचेल स्टार्कले सर्वाधिक ४ विकेट लिए। वरुण चक्रवर्ती, सुनील नारायण र आन्द्रे रसेलले २/२ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ थालेको कोलकाताले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १६९ रन बनाएको थियो।
कोलकाताका वेंकटेश अय्यरले सर्वाधिक ७० रन बनाए। ५२ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे। मनीष पाण्डे ४२ रनमा आउट हुँदा कोलकाताका अन्य ब्याटर चल्न सकेनन्।
मुम्बईका नुवान तुषारा र जसप्रीत बुमराहले ३/३ विकेट लिए। हार्दिक पाण्ड्याले २ विकेट लिँदा पीयुष चावलाको नाममा १ विकेट रह्यो।