काठमाडौँ। एसीसी पुरुष प्रिमियर कपअन्तर्गत समूह चरणको चौथो तथा अन्तिम खेलमा साविक विजेता नेपालले बुधबार साउदी अरबको सामना गर्दै छ।
अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ २) ओमानमा हुने खेल बिहान ११:४५ बजेबाट शुरू हुँदै छ।
समूह ‘बी’ मा रहेको नेपाल अपराजित रहँदै एक खेलअगावै सेमिफाइनलमा पुगिसकेको छ। नेपालले ३ खेलबाट ६ अंक जोडेको छ। पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो।
यस्तै, शनिबार सम्पन्न दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको हो।
सोमबार तेस्रो खेलमा हङकङलाई ८ विकेटले पराजित गर्दै नेपाल समूह ‘बी’ को विजेता बनेको थियो। नेपाल आफ्नो अपराजित यात्रालाई कायमै राख्न लक्ष्यमा हुने छ।
यता, साउदी भने नेपालसँग जित्नै पर्ने दबाबमा रहेको छ। ३ खेलबाट २ अंक जोडेको साउदी अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। साउदीभन्दा एक खेल बढी खेलेको कतारको ४ अंक रहेको छ। +०.४६७ नेटरनेट रहेको साउदी नेपालमाथि सानदार जितसहित सेमिफाइनलमा स्थान बनाउन चाहन्छ।
पहिलो खेलमा मलेसियासँग १२ रनले पराजित भएको साउदीले दोस्रो खेलमा हङकङलाई ५५ रनले पराजित गर्दै पुनरागमन गरेको थियो। तर, तेस्रो खेलमा भने साउदी कतारसँग १५ रनले पराजित भयो।