काठमाडौँ। ब्राजिलियन डिफेन्डर थियागो सिल्भाले सिजनको अन्त्यमा लन्डन क्लब चेल्सी छोड्ने भएका छन्।
सन् २०२० को अगस्टमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट फ्रि ट्रान्सफरमा प्रिमियर लिगमा उनी आबद्ध भएका थिए।
१५१ खेल खेलिसकेका ३९ वर्षीय सिल्भाले चेल्सीबाट च्याम्पियन्स लिग, क्लब विश्वकप र यूईएफए सुपर कप जितेका छन्।
गत शनिबार एस्टन भिल्लासँग चेल्सीले २–२ गोलको बराबरी खेल्दा ९०औँ मिनेटमा उनलाई प्रतिस्थापन गरिएको थियो।
‘चेल्सीले मेरो लागि धेरै अर्थ राख्छ। म यहाँ एक वर्ष मात्र बस्ने मनसायले आएको थिएँ। तर, म चार वर्ष बसें,’ उनले एक्समा भनेका छन्, ‘मेरा छोराहरू चेल्सीका लागि खेलिरहेका छन्। त्यसैले चेल्सी परिवारको एक हिस्सा हुनु ठूलो गर्वको विषय हो।’
आफ्ना छोराहरू चेल्सीबाटै खेल्नेमा उनी आशावादी देखिएका छन्।