काठमाडौँ। चेन्नई सुपर किंग्सका तीव्रगितका बलर मुस्ताफिजुर रहमानको नो अब्जेक्सन लेटर (एनओसी) एक दिन थप भएको छ। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले उनको एनओसी एक दिन थप गरेको हो।
मुस्ताफिजुरलाई बीसीबीले अप्रिल ३० सम्म आईपीएल खेल्न एनओसी दिएको थियो। तर, बोर्ड अफ कन्ट्रोल फर क्रिकेट (बीसीसीआई)ले विशेष अनुरोध गरेपछि बीसीबीले मे १ मा पञ्जाब किंग्सविरुद्ध हुने खेलसम्मका लागि एनओसी दिएको हो।
यसपछि उनी मे ३ देखि १२ सम्म जिम्बावेविरुद्धको घरेलु टी–२० सिरिजमा सहभागी हुनेछन्। मे २१ देखि उनी फेरि टेक्ससमा अमेरिकाविरुद्धको टी–२० सिरिजमा देखिनेछन्।
आईपीएलमा मुस्ताफिजुरले ५ खेलमा १८.३० को औसतमा १० विकेट लिएका छन्। सन् २०२१ मा राजस्थान रोयल्सबाट खेलपछिको आईपीएलमा यो उनको उत्कृष्ट प्रदर्शन हो। मुस्ताफिजुर आगामी टी–२० विश्वकपका लागि भिसासम्बन्धी कामका कारण गत हप्ता ढाका गएका थिए।
श्रीलंका विरुद्धको अन्तिम टी–२० सिरिजमा मात्र दुई विकेट लिएका मुस्ताफिजुर बंगलादेशको एक दिवसीय टोलीबाट बाहिरिएका थिए। मुस्ताफिजुर टी–२० आईमा बंगलादेशका सबैभन्दा सफल बलर हुन्।