काठमाडौँ। लोकेश बमको शतका बाबजुद नेपाल ‘ए’ तीन टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा आयरल्यान्ड उल्भ्ससँग पराजित भएको छ।
शुक्रबार सम्पन्न खेलमा नेपाल २१ रनले पराजित भएको हो। जितसँगै आयरल्यान्डले शृंखलामा १–० को अग्रता बनाएको छ।
आयरल्यान्डले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै २०१ रनमात्रै बनाउन सक्यो।
नेपालका लागि लोकेशले सर्वाधिक १०६ रनको इनिङ्स खेले। ५६ बल खेलेका उनले ९ चौका र ८ छक्का प्रहार गरे। आरिफ शेख ४९ रनमा आउट हुँदा कप्तान विनोद भण्डारीले १६ रनको योगदान दिए।
नेपालका अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन। लोकेश र आरिफले चौथो विकेटका लागि १२१ रनको साझेदारी गरेका थिए। लोकेश १५.६ ओभरमा फिओन ह्यान्डको बललाई प्रहार गर्ने क्रममा डीप प्वाइन्टमा थोमस मेयरबाट क्याच आउट भए।
नेपाललाई अन्तिम १८ बलमा जितको लागि ३० रन चाहिएको थियो। तर, १८औँ ओभरको दोस्रो बल खेल्दै गर्दा मध्यक्रमका आरिफ शेख म्याथ्यु हम्फ्रेजको बलमा थोमस मेयरबाट गल्लीमा क्याच आउट भएपछि आयरल्यान्डले खेलमा पुनरागमन गर्यो।
नेपालले स्कोरमा ७ रन थप्दा किरण ठगुन्ना २ र बसिर अहमदलाई ३ रनमा गुमायो। राशिद खान, कमलसिंह ऐरी र हेमन्त धामीले खाता खोल्न सकेनन्। सागर ढकाल १ रनमा अविजित रहे। एक रन भने अतिरिक्त आएको थियो।
आयरल्यान्डका फिओन ह्यान्ड र म्यथ्यू हम्फ्रेज ३/३ विकेट लिए। यता, म्याथ्यू फोस्टरले २ विकेट लिँदा थोमस मेयर र गेभिन होईको नाममा १/१ विकेट रह्यो
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनाएको थियो।
आयरल्यान्डका पिटर मुरले सर्वाधिक ४९ रन बनाए। ३२ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे।
केड कर्माइकल र कप्तान निल रकले ३८/३८ रन बनाएर आउट हुँदा स्टीफन डेहेनीले ३४ रनको योगदान दिए।
ग्यारेथ डेलानी ३० र र गेभिन होई १८ रनमा अविजित रहे। नेपालका कमलसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए। सागर ढकाल र आरिफ शेखको नाममा १/१ विकेट रह्यो।