काठमाडौं । यूएईमा आज सोमबारबाट सुरु हुने विश्वकप लिग टू को यूएई सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी(पीएनजी)सँग खेल्दै छ ।
नेपाल जितका साथ सिरिजको सुरुआत गर्न चाहान्छ । त्यसैले नेपालले बलियो टोली मैदान उतार्नेछ ।
नेपालले ओपनरका रुपमा आसिफ शेख र कुशल भुर्तेलको जोडी रहने सम्भावना रहेको छ । यस अघि नेपालमा भएको सिरिजको पहिलो खेलमा शतक बनाएका कुशलले त्यसपछि राम्रो प्रदर्शन गर्न सकेनन् ।
गत साता नेपालमा भएको सिरिजमा औसत प्रदर्शन गरेका आसिफबाट आज राम्रो खेलको अपेक्षा रहेको छ । नेपाललाई बलियो स्थितिमा पुर्याउन कुशल र आसिफको जोडीले राम्रो सुरुआत दिनुपर्ने हुन्छ ।
तीन नम्बरमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रहने सम्भावना छ । ज्ञानेन्द्रले अन्तराष्ट्रिय क्रिकेटमा पछिल्लो केही खेल यता देखाएको लयलाई जिम्मेवारीका साथ अघि बढाउन जरुरी रहेको छ ।
चौथो र पाँचौ स्थानमा दीपेन्द्र सिंह ऐरी र कप्तान रोहित पौडेलले स्थान बनाउने छन् । अघिल्लो साता भएको सिरिजमा दीपेन्द्रको ब्याटबाट विश्वकप लिग टू को घरेलु मैदानमा ठूलो पारी खेलेकामा आजको खेलमा पनि सोही अपेक्षा रहेको छ । कप्तान पौडेलले सदा झैं आफ्नो लयलाई निरन्तरता दिन आवश्यक देखिन्छ ।
छैटौं नम्बरमा अलराउण्डर आरिफ शेख रहने सम्भावना रहेको छ । अघिल्लो सिरिज गुमाएका शेखले छैटौं नम्बरमा खेल्ने सम्भावना प्रवल रहेको छ ।
गत साता घरेलु मैदानमा भएको सिरिजमा नेपाललाई शतप्रतिशत जित दिलाउन ठूलो योगदान गरेका अलराउण्डर कुशल मल्ल सातौं स्थानमा रहँदा आठौं नम्बरमा गुल्सन झा को सम्भावना रहेको छ ।
कुशल लामो सट प्रहार गर्न सक्ने विस्फोटक ब्याटरका साथ केही ओभर बलिङमा समेत टोलीको साथ दिने खेलाडी हुन् । झा तीव्र गतिका बलरका साथ तल्लो क्रममा लामो सटका साथ ब्याटिङको समेत क्षमता राख्छन् ।
नवौं र दशौं स्थानमा तिव्र गतिका बलरद्वय करण केसी र सोमपाल कामी रहने छन् । केसी र सोमपाल तीव्र गतिका बलरका साथ तल्लो क्रममा लामो सटका साथ ब्याटिङ समेतको क्षमता राख्छन् ।
एघारौं नम्बरमा स्पिनर ललित नारायण राजवंशी रहने सम्भावना रहेको छ ।
नेपालको सम्भावित प्लेईङ-११
आसिफ शेख (विकेट किपर),कुशल भुर्तेल,ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी,रोहित पौडेल (कप्तान),आरिफ शेख,गुल्सन झा,कुशल मल्ल,करण केसी,सोमपाल कामी र ललित नारायण राजवंशी