काठमाडौँ। माछापुच्छ्रे बैंकले कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जितेको छ। मूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा आईसीएफसी फाइनान्सलाई ३ विकेटले हराउँदै माछापुच्छ्रे बैंकले उपाधि उचालेको हो।
एसएस इभेन्ट्सको आयोजनामा हुँदै आएको कर्पोरेट क्रिकेट प्रतियोगितामा माछापुच्छ्रे पहिलोपटक कर्पोरेट क्रिकेटमा विजेता भएको हो। आईसीएफसी फाइनान्सले दिएको ६६ रनको लक्ष्य माछापुच्छ्रेले ४.४ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो। माछापुच्छ्रेको जितमा निशेष केसीले ३१ रन र विभव जोशीले १६ रन जोडे।
निशेषले १४ बलमा ३ चौका र २ छक्का प्रहार गरे। विभवको इनिङ्समा समान १ चौका र छक्का रह्यो। आईसीएफसीको बलिङमा सुरज तिम्सिना र सन्जोग गुरुङले १/१ विकेट लिए पनि आफ्नो टोलीको हार टार्न सकेनन्।
त्यसअघि आईसीएफसीले निर्धारित ५ ओभरमा १ विकेटको क्षतिमा ६५ रनको योगफल बनाएको थियो। आईसीएफसीका लागि अरविन्द राणाले १३ बलमा ३१ रन र सुरज तिम्सिनाले १३ बलमा १६ रन जोडे।
अरविन्दको इनिङ्समा ४ चौका र २ छक्का थियो। माछापुच्छ्रेको बलिङमा कुनै पनि बलरले विकेट लिन सकेन। प्लेअर अफ दी फाइनल माछापुच्छ्रेका निशेष केसी घोषित भए।
विजेता माछापुच्छ्रे र उपविजेता आईसीएफसीले ट्रफी र गिफ्ट ह्याम्पर पाए। विजेता माछापुच्छ्रे बैंकले आगामी सिजन फ्री इन्ट्री पाएको छ। प्लेयर अफ दी टुर्नामेन्टमा आईसीएफसीका सुरज तिम्सिना र बेस्ट ब्याट्सम्यान एनआईसी एशियाका अमर रावल घोषित हुँदै गिफ्ट ह्याम्पर पाए।
त्यस्तै, बेस्ट बलरमा आईसीएफसीका सुरज तिम्सिना, बेस्ट फिल्डरमा माछापुच्छ्रेका सृजन सुवेदी र बेस्ट विकेटकिपर माछापुच्छ्रे निशेष केसीले पनि गिफ्ट ह्याम्पर पाए। सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीमा एनआईसी एशियाका अमर रावल र फेयर प्ले अवार्ड प्राइम बैंकले प्राप्त गर्यो।