काठमाडौं । २०१९ देखि सुरु भएको आईसीसी विश्वकप लिग टूको अन्तिम विदेशी त्रिकोणात्मक सिरिजका रुपमा सोमबारबाट नेपालले यूएईमा सिरिज खेल्नेछ ।
नेपालले यूएई भ्रमणका क्रममा घरेलु टोली तथा पपुवा न्युगिनी(पीएनजी)सँग खेल्नेछ । सोमबार पीएनजीसँग खेलेर सिरिजको सुरुआत गर्ने नेपालले १८ गते बिहिबार घरेलु टोलीसँग खेल्नेछ । १९ गते शुक्रबार पीएनजीसँग खेल्ने नेपालले फागुन २२ गते सोमबारमा घरेलु टोलीसँग खेल्दै यूएई यात्रा समापन गर्नेछ ।
नेपालको यूएईमा प्रदर्शन औसत रहेको छ । नेपालले यूएईमा सात एकदिवसीय अन्तराष्ट्रिय खेलेकोमा ४ खेल मात्र जितेको छ । नेपालले यूएईमा घरेलु राष्ट्रसँग ५ तथा पीएनजीसँग २ एकदिवसीय अन्तराष्ट्रिय खेलेको छ । पीएनजीसँग शतप्रतिशत नतिजा निकालेको नेपालले यूएईसँगको भने २ खेलमा मात्र जित निकालेको छ ।
यूएईको भूमीमा नेपालले पहिलो पटक नेपाल र युएईबीचको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा खेलेको थियो । २५ जनवरी २०१९ देखि २८ जनवरी २०१९ सम्म भएको सिरिजमा नेपालले २ खेलमा जित हात पारेर सिरिज आफ्नो नाम गरेको थियो ।
यूएईमा भएको यस सिरिजको पहिलो खेलमा नै नैपालले यूएईमा आफ्नो पहिलो खेल खेलेको थियो । यस खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । सो खेलमा नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाएका थिए । बलिङ तर्फ नेपालका लागि करण केसी,सन्दीप लामिछाने र पारस खड्काले समान २/२ विकेट लिएका थिए ।
यूएईको भुमीमा नेपालको दोस्रो खेल त्यहि सिरिजको दोस्रो खेलमा भएको थियो । सो खेलमा नेपालले यूएईलाई १ सय ४५ रनले हराएको थियो । यस खेलमा हालका कप्तान रोहित कुमार पौडेलले ५५ रन बनाएका थिए । बलिङ तर्फ सोमपाल कामीले ५ विकेट लिएका थिए ।
यूएईको मैदानमा नेपालको तेस्रो खेल सोहि सिरिजको तेस्रो तथा निर्णायक खेलमा भएको थियो । सो निर्णायक खेलमा नेपालले ४ विकेटको जित हात पार्दै ऐतिहासिक एकदिवसीय अन्तराष्ट्रिय सिरिज जितेको थियो । त्यस खेलमा नेपालका तत्कालिन कप्तान पारस खड्काले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक प्रहार गरेका थिए । बलिङमा करण केसी र पारस खड्काले समान २/२ विकेट लिएका थिए ।
यसै सिरिजमा हात पारेको दुई जित नै नेपालले यूएईमा घरेलु टोलीविरुद्ध हात पारेको दुई जित हो ।
यूएईमा नेपालको चौथो खेल पीएनजीविरुद्ध भएको थियो । चौथो खेल यूएईमा भएको विश्वकप लिग टू अन्तर्गतको नेपाल,यूएई तथा पीएनजीबीचको त्रिकोणात्मक सिरिजमा भएको थियो । १६ मार्च २०२२ मा भएको सो खेलमा नेपालले टस हारेर पहिले बलिङ गरेको थियो । पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो । सो खेलमा नेपालका लागि सोमपाल कामीले ३ तथा आरिफ शेखले १ विकेट लिएका थिए ।
२ सय ५ रनको लक्ष्य नेपालले ४ बल बाँकी रहँदा ८ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि हालका कप्तान रोहितकुमार पौडेलले ६० तथा आरिफ शेखले ४९ रन बनाए ।
नेपालको यूएईमा पाचौं खेल घरेलु टोलीविरुद्ध भएको थियो । यस खेल दुबईमा भएको विश्वकप लिग टू त्रिदेशीय सिरिजका क्रममा भएको थियो । यस सिरिजको पहिलो खेलमा नेपालले ४८ रनको हार व्यहोरेको थियो । मार्च १८ २०२२ मा भएको यस खेलमा नेपालका लागि हालका कप्तान रोहित पौडेलले ४६ रन बनाएका थिए । बलिङमा नेपालका लागि सोमपाल कामीले ४ विकेट लिएका थिए ।
उक्त त्रिकोणात्मक सिरिजको क्रममा नै नेपालले युएईमा छैटौं खेल खेलेको थियो । मार्च २२ २०२२ मा भएको सो खेलमा नेपालले पीएनजीलाई ७ विकेटले पराजित गरेको थियो । सो खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको थियो । पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान २/२ विकेट लिएका थिए ।
१ सय ७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि आसिफ शेखले अविजित ५९ रन बनाउँदा कुशल भुर्तेलले ५० रन बनाए ।
यूएईको भुमिमा नेपालको पछिल्लो तथा सातौं खेल घरेलु टोली विरुद्ध भएको थियो । आईसीसी विश्वकप लिग टू को त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र युएईबीचको खेल भएको थियो । जुन खेलमा नेपाल ९९ रनले पराजित भएको थियो । त्यस खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्लले ३० रन बनाएका थिए । बलिङ तर्फ तत्कालिन कप्तान सन्दीप लामिछानेले ३ विकेट लिएका थिए ।