काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी ट्वान्टी क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर एकले बिजयी सुरुवात गरेको छ ।
सुनसरीको इटहरीस्थित जनता पार्क मैदानमा शुक्रबार भएको उद्घाटन खेलमा प्रदेश एकले मधेश प्रदेशलाई ९ विकेटले हराएको हो ।
पहिले ब्याटिङ गरेको मधेशले १९ ओभर २ बलमा अलआउट हुँदै ४९ रन बनायो ।
मधेशकी सरस्वती कुमारीले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । मधेश प्रदेशका चार खेलाडी शुन्य रनमा पवेलियन फर्किएका थिए ।
प्रदेश एककी सबनम राईले चार तथा रुबिना क्षेत्री र र निशा साहले दुई दुई विकेट लिए । ज्योती दनवार र एलिसा खनियाँले एक एक विकेट चट्काए ।
प्रदेश एकका काजल श्रेष्ठले २४ तथा रुबिना क्षेत्रीले अविजित २० रन बनाईन् । अपसरी बेगम शुन्य रनमा नटआउट रहिन् । मधेशका कुनै पनि बलर विकेट लिन सफल रहेनन् ।
प्रदेश एकले ११ ओभर ४ बलमा मात्र एक विकेट गुमाएर लक्ष्य पुरा गर्यो । प्रदेश एककी सबनम राई प्लेयर अफ द म्याच बनिन् ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २०/२० हजार पाउनेछन् । प्रतियोगितामा प्रत्येक खेलका प्लेयर अफ द म्याचले ३ हजार प्राप्त गर्नेछन् ।
पुस २९ बाट सुरु हुने यस प्रतियोगितामा ८ टोलीको सहभागीता रहने छ । प्रतियोगितामा सात प्रदेश तथा एक विभागीय टोलीको सहभागीता रहने छ ।
यस प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गराईएको छ ।
२ समूहका विजेता र उपविजेता सेमिफाईनल प्रवेश गर्ने छन् । प्रतियोगितामा १८ खेल आयोजना हुनेछ ।