काठमाडौं । घरेलु टोली भारतले पाहुना टोली श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज एक खेल अगावै जितेको छ ।
बिहिबार भएको श्रीलंकाविरुद्धको दोस्रो खेल ४ विकेटले जितेसँगै सिरिज २-० ले जितेको हो ।
कोलकतामा रहेको इडन गार्डेनमा भएको खेलमा पाहुना टोलीबाट पाएको २ सय १६ रनको लक्ष्य घरेलु टोलीले ४३.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
भारतका लागि केएल राहुलले अविजित ६४ रनको अर्धशतक पूरा गरे । उपकप्तान हार्दिक पाण्ड्याले ३६ रन बनाए । श्रेयस अय्यर २८ रनमा आउट हुँदा अक्षर पटेल २१ रनमा आउट भए ।
शुभमन गिलले २१ रन बनाउँदा कप्तान रोहित शर्मा १७ रनमा आउट भए ।
भ्रमणकारी टोलीका लागि लाहिरु कुमारा र चमिका करुणारत्नेले समान दुई दुई तथा धनन्जय डा सिल्भा र कसुन रन्जिथाले एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले ३९.४ ओभरमा अलआउट हुँदै २ सय १५ रन मात्र बनाउन सक्यो ।
पाहुना टोलीका लागि नुवानिडु फर्नान्डोले ५० रनको अर्धशतकीय ईनिङ खेले । आजको खेलबाट नै डेब्यु गरेका उनले ६३ बलमा ६ चौका प्रहार गरे ।
१ सय २ रनमा दोस्रो विकेट गुमाएको पाहुना टोलीले थप ८ विकेट १ सय १३ रन बनाउँदा गुमायो ।
कुशल मेन्डिसले ३४ रन बनाउँदा डुनिथ वेललेजले अविजित रन बनाए । वानिन्दु हसरंगाले २१ रन बनाए ।
आभिष्का फर्नान्डो २० रनमा आउट हुँदा कुसन रन्जिथा १७ रनमा अविजित रहे । चमिका करुणारत्ने १७ रनमा नै आउट भए ।
घरेलु टोलीका लागि कुलदिप यादव र मोहम्मद सिराजले समान तीन तीन तथा उमरान मल्लिकले दुई विकेट लिए । अक्षर पटेलको नाममा एक विकेट रह्यो ।
तीन खेलको सिरिजको तेस्रो खेल आईतबार हुनेछ ।