काठमाडौं । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब अपराजित रहँदै सेमिफाईनलमा प्रवेश गरेको छ ।
पोखरामा शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ९७ रनले पराजित गरेको छ ।
पुलिसले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले १२ ओभर ५ बलमा अलआउट हुँदै १५ रन मात्र जोड्न सक्यो ।
लुम्बिनी प्रदेशका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । उसका लागि कप्तान सरस्वती जिएमले बनाएको ६ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।
लुम्बिनीका ६ ब्याटर डगआउट भए । लुम्बिनीलाई कम रनमा रोक्न पुलिस क्लबका लागि ईश्वरी विष्टले ४ तथा हिरन्माई रोय र कप्तान रुबिना क्षेत्रीले समान २/२ विकेट लिईन् । सबनम राईले १ विकेट लिईन् ।
त्यस अघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ७ विकेट गुमाएर १ सय १२ रन जोडेको थियो । पुलिसका लागि कविता जोशीले ४८ तथा सम्झना खड्काले २९ रन बनाईन् ।
अप्सरी बेगमले १० तथा कप्तान रुबिना क्षेत्रीले ५ रन बनाईन् । लुम्बिनी प्रदेशका लागि सुस्मिता भुसाल र मनिशा रानाले समान २/२ विकेट तथा मधु डिसी र कमला जीएमले समान १/१ विकेट लिईन् ।
जितसँगै पुलिस ६ अंक जोड्दै समूह 'बी' को शीर्ष स्थानमा रहेर सेमिफाईनल पुगेको छ । लुम्बिनी प्रदेश भने ३ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
यस समूहबाट सेमिफाईनल पुग्ने अर्को टोली भने आजको दोस्रो खेल पछि टुङ्गिने छ । आज नै हुने दोस्रो खेलमा कर्णाली प्रदेश र प्रदेश-१ बीच खेल हुनेछ ।
महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
समूह 'ए' मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ ।
समूह 'बी' मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश-१ र लुम्बिनी प्रदेश रहेको छ ।