काठमाडौं । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले लगातार दोस्रो जित हात पारेको छ ।
पोखरा क्रिकेट मैदानमा बिहीबार सुदुरपश्चिम प्रदेशलाई १५ रनले पराजित गर्दै मधेशले दोस्रो जित निकालेको हो।
मधेशले दिएको ९२ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले २० ओभरमा ८ विकेट गुमाएर ७६ रन मात्र बनायो ।
सुदुरपश्चिमका लागि रितु कनौजियाले २७ तथा रुबि पोदारले १२ रन बनाईन् । सुदुरपश्चिमका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदुरपश्चिमलाई कम रनमा नै रोक्न अनुराधा चौधरी, सन्तोषी चौधरी र शान्ता चौधरीले समान २/२ तथा सरस्वती कुमारीले १ विकेट लिईन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले २० ओभरमा ९ विकेट गुमाएर ९१ रन बनाएको थियो ।
मधेशका लागि साना प्रभिनले ३५ तथा गोमा आलेले १० रन बनाईन् । कप्तान कबिता गौतमले अविजित ९ तथा रोजी कडारीले ४ रन बनाईन् ।
सुदुरपश्चिमले २५ रन अतिरिक्तमा खर्चिएको थियो । सुदुरपश्चिमका लागि सावित्री धामीले ४ तथा मनिष चौधरी र यशु पाण्डेले समान १/१ विकेट लिए ।
जितसँगै मधेश २ खलमा ४ अंक जोड्दै समूह 'ए' को दोस्रो स्थानमा उक्लिएको छ । सुदुरपश्चिम भने २ अंकका साथ तेस्रो स्थानमा झरेको छ ।
महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
समूह 'ए' मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ ।
समूह 'बी' मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश-१ र लुम्बिनी प्रदेश रहेको छ ।