काठमाडौं । न्युजिल्याण्डमा जारी त्रिदेशीय टी ट्वान्टी सिरिज अन्तर्गतको समूह चरणको अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई हराएको छ ।
क्राइसचर्चमा बिहिबार भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको हो ।
बंगलादेशले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १ बल बाकी रहँदा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
पाकिस्तानको जितमा मोहम्मद रिजवनले ६९ रनको अर्धशतकीय पारी खेले । रिजवानले ५६ बलमा ४ चौकाको मद्दतले ६९ रन बनाएका थिए । कप्तान बाबर अजामले ४० बलमा ५५ रनको अर्धशतकीय पारी खेले ।
मोहम्मद नवाजले अविजित ४५ तथा आसिफ अलिले अविजित २ रन बनाए ।
बंगलादेशका लागि हसन महमुदले २ तथा सौम्य सरकारले १ विकेट लिए ।
पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो ।
उसका लागि लिन्टन दास र शाकिब अल हसनले अर्धशतकीय पारी खेले । दासले ६९ तथा कप्तान शाकिबले ६८ रन बनाए । नजमुल होसाइन शान्तोले १२ तथा आफिफ होसाइनले ११ रन बनाए ।
पाकिस्तानको लागि नसिम शाह र मोहम्मद वासिमले २-२ तथा मोहम्मद नवाजले १ विकेट लिए ।
सिरिजमा पाकिस्तानको यो तेस्रो जित हो । बंगलादेश भने यस सिरिजका चार खेलमा जित बिहिन रह्यो ।
सिरिजको फाईनल खेल शुक्रबार न्युजिल्याण्ड र पाकिस्तानबीच हुनेछ ।