काठमाडौं । न्यू डायमण्ड एकेडेमी 'ए' र विजेश्वरी ज्ञान मन्दिर स्कुल दोस्रो संस्करणको चन्द्रागिरी उपमेयर कप भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
नैकापस्थित न्यू डायमण्ड एकेडमीको खेल मैदानमा बुधबार न्यू डायमण्ड 'ए' ले परोपकार आदर्स मा.बिलाई २-० को सोझो सेटमा पराजित गरे । वेष्ट अफ थ्रीका आधारमा खेलाईएको खेलमा न्यू डायमण्ड 'ए' ले परोपकारलाई २५-९ र २५-२ को सेटमा पराजित गर्यो ।
जितसंगै न्यू डायमण्ड 'ए' ले समूह 'क' बाट क्वार्टरफाइनलमा स्थान बनाएको हो । परोपकारको पनि क्वार्टरफाइनल सम्भावना कायम रहेको छ । परोपकारले अब नलज्योति माबिसंग खेल्नेछ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी चन्द्रागिरी नगर कमिटिको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार विजेश्वरी ज्ञान मन्दिरले ज्ञान सुधा एकेडेमीलाई २-० को सेटमा पराजित गर्यो । विजेश्वरीले ज्ञानसुधालाई २५-१७ र २८-२६ को सेटमा पराजित गर्यो ।
जितसंगै समूह 'ख' बाट विजेश्वरीले समूह विजेता र पराजित ज्ञानसुधाले उपविजेता बन्दै क्वार्टरफाइनलमा स्थान बनायो । यस समूहमा दुई टोली मात्र रहेको कारण दुवैले अन्तिम आठको यात्रा तय गरेको हो ।
भलिबल दिवसको अवसरमा आयोजित प्रतियोगितामा विभिन्न १० स्कुलका छात्रा टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता अन्तर्गत बुधबार थप दुई खेल हुने प्रतियोगिता संयोजक कुमार राईले जानकारी गराए ।
यस्तै भलिबल दिवसको अवसरमा बुधबार दिउँसो न्यू डायमण्ड एकेडमी र एपीएफ टिमबीच सेलिब्रेसन खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ६० हजार हात पार्नेछन् भने उपविजेताले ३० हजार पाउनेछन्। यस्तै तेस्रोले १५ तथा चौथोले १० हजार हात पार्नेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ हजार ५ सय र विधागत उत्कृष्टहरुले समान १/१ हजार पाउने छन् ।