काठमाडौँ। आठौँ आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा शुक्रबार सम्पन्न खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबमाथि ३-२ सेटको रोमाञ्चक जित हासिल गर्दै आर्मीले हेल्प नेपालसँगको भेट पक्का गरेको हो।
पहिलो सेट १८-२५ ले गुमाएको आर्मीले दोस्रो सेट पुनरागमन गर्दै २५-२३ ले जितेको थियो।
तेस्रो सेट भने आर्मी २४-२६ ले पराजित भयो। यद्यपि, चौथो सेटमा २५-१३ को सहज जित निकाल्दै आर्मीले खेललाई पाँचौँ सेटमा लम्बायो।
पाँचौं तथा निर्णायक सेटमा १५-१३ को जित निकाल्दै आर्मीले हेल्प नेपालसँगको भेट पक्का गर्यो।