काठमाडौं । राजधानीमा जारी रहेको सातौं संस्करणको महिला तथा पुरुष क्लब लिग भलिबलमा महिला तर्फ न्यु डायमन्ड स्पोर्टस क्लबले तेस्रो खेलमा आफ्नो अपराजित यात्रा कायम राखेको छ ।
त्रिपरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा जारी प्रतियोगिताको मंगलबारको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै न्यु डायमन्डले लगातार तेस्रो जित हात पारेको हो ।
उपाधी दावेदार मानिएको न्यु डायमन्डले आर्मीलाई ३-२ को सेटमा पराजित गरेको हो । डायमन्डले पहिलो र दोस्रो सेटमा जित हात पारेको थियो । त्यस पछिका दुई सेट आफ्नो पक्षमा पारेर खेलमा फर्कने कोशिश गरेको आर्मीले अन्तिम सेट गुमाउँदा पराजय व्यहोर्न पुग्यो ।
२५-१५ र २५-२१ ले न्यु डायमन्डले सुरुआती दुई सेट जितेको थियो । तेस्रो सेट १९-२५ र चौथो सेट २२-२५ ले गुमाएको थियो । पाँचौ तथा निर्णायक सेटमा डायमन्डले १५-९ ले जित हात पारेर २ अंक जोड्न सफल रह्यो ।
आईतबार आफ्नो पहिलो खेलमा न्यु डायमन्डले गन्डकी प्रदेशलाई पराजित गरेको थियो । सोमबार एभरेष्ट भलिबल क्लबलाई पराजित गरेको थियो ।
आर्मीको भने यो लगातार तेस्रो हार हो । आर्मी विभागीय टोलीहरु नेपाल एपीएफ र नेपाल पुलिससॅंग पराजित भएको थियो । लगातार तेस्रो हारसँगै शीर्ष दुईमा रहेर फाइनल खेल्ने आर्मीको सम्भावना कमजोर भएको छ ।
प्रतियोगितामा महिला तर्फ ६ तथा पुरुष तर्फ ७ टोलीको सहभागीता रहेको छ । महिला र पुरुष तर्फ शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।
फाइनल खेल असार ३० गते शनिबार छ ।