काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले नयाँ खेलकुद संघलाई आबद्धता दिने तयारी गरेको छ ।एनओसीको पछिल्लो बोर्ड बैठकमा नयाँ संघलाई आबद्धता दिने विषयले प्रवेश पाएको थियो ।
नेपाल रग्बी संघ सहित १३ संघले एनओसीमा आबद्धताका लागि निवेदन दिएका छन् । एनओसीमा अहिले २७ वटा मताधिकार सहितका संघ आबद्ध छन् ।
‘नयाँ सदस्यता दिने विषयमा एनओसी सकारात्मक छ । यसका लागि मापदण्ड बनाउने र मापदण्ड पुरा गर्ने संघलाई सोही अनुसारको आबद्धता दिने निर्णय भएको छ ।’ एनओसी महासचिव निलेन्द्रराज श्रेष्ठले खेलपाटीसँग भने ।
‘कुन किसिमको सदस्य दिने भन्ने विषयमा मापदण्डको आधारमा हुनेछ । गतिविधि नगर्ने तर ओलम्पिकमा मात्र प्रवेश गर्ने मनसाय बोकेका संघलाई रोक्नुपर्छ भन्ने छ ।’ श्रेष्ठले भने ।
एनओसीमा आबद्धताका लागि क्लाइबिङ, बेस बल एण्ड सफ्ट बल, मुवाँथाई, सेपाकताक्रो, आइस हक्की, योगा स्पोर्टस, मोर्डेन पेन्टाथलन, किक बक्सिङ, घोढचढी, रग्बी, स्केटिङ एण्ड स्केटबोडिङ, ब्रेकिङ एण्ड डान्स र रोइङ संघले निवेदन दिएका छन् ।
‘एनओसीमा आबद्धताका लागि निवेदन आईसकेपछि मौन बस्न सकिदैन । कसरी आबद्ध गर्ने भन्ने विषय हो । हामी सकारात्मक छौं ।’ महासचिव श्रेष्ठले भनेका छन् ।
घरेलु खेलकुदमा लोकप्रिय र अन्तराष्ट्रिय स्तरमा समेत सफलता हासिल गरिरहेको ग्लोबल गेमको रुपमा परिचित क्रिकेट लगायतका अन्य खेलहरुले नेपाल ओलम्पिक कमिटी छाताभित्र प्रवेश पाएका छैनन् ।
राष्ट्रिय खेलकुद परिषद् राखेपमा केही समय अघि २ सय ४ संघ दर्ता रहेका थिए । खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि संघको संख्या दोहोरो अंकमा झार्ने राखेपको तयारी छ । सोही अनुसार करिब ६० को हाराहारीमा राष्ट्रिय संघहरु पुग्ने परिषद् आबद्ध अधिकारीहरु बताउँछन् । तर एनओसीमा केही सिमित संघले मात्र प्रवेश पाएका छन् ।
आफु अनुकुलका संघलाई मात्र मान्यता दिएर अन्तराष्ट्रिय खेलकुदमा केही सिमित ब्यक्तिले बर्चस्व स्थापित गरेको आरोप एनओसीमाथि लाग्ने गरेको छ ।
एनओसीको पछिल्लो बोर्ड बैठकमा सहायक महासचिव समेत रहेका पिताम्बर तिम्सिनाले मापदण्ड बनाएर नयाँ संघलाई ओलम्पिकको ढोका खोल्नुपर्ने बताएका थिए । उनले राज्यसंघ द्धन्द्ध बढाएर खेलकुद अघि बढ्न नसक्ने उल्लेख गर्दै आबद्धताका लागि आएका प्रस्तावलाई एनओसीले मान्यता दिएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
बैठकमा केही सदस्यले नयाँ संघलाई मान्यता दिदाँ ओलम्पिक गलत ब्यक्तिको हातमा पुग्नेतर्फ सचेत गराएका थिए । ‘नयाँ सदस्यताको नाममा आबद्धता दिदा भोलि गलत ब्यक्तिले ओलम्पिक कब्जा गर्ने अवस्था आउन सक्छ । यसमा सचेत हुनुपर्छ भन्ने कुरा उठेको छ ।’ एक सदस्यले भने ।
एनओसीले मापदण्ड बनाएर नयाँ सदस्यता दिने विषयमा औपचारिक निर्णय गरेको छ । एनओसी आबद्धताको मापदण्ड निर्माणको कामलाई अघि बढाएको छ । ‘अबको दुई, तीनवटा बैठकपछि नयाँ संघलाई आबद्धता दिने विषय टुङ्गो लाग्छ । महासचिव श्रेष्ठले भनेका छन् ।