काठमाडौं । नेसनल चेस च्याम्पियनसिप २०२३ अन्तर्गत शुक्रबार चौथौं दिन छैटौं चरणको खेल सम्पन्न हुँदा खुल्लातर्फ फिडे मास्टर रुपेश जैसवाल ६ अंक सहित शीर्ष स्थानमा कायम रहेका छन् ।
रुपेशले पाँचौ चरणको खेलमा ललितपुरका राजन पुरीमाथि सहज जित निकाले भने छैटौं चरणको खेलमा पूर्व नेपाल च्याम्पियन सुरवीर लामालाई पराजित गरे ।
१४ वर्षीय खेलाडी पुरुषोत्तम सिलवालले शुक्रबार उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले पाँचौ चरणको खेलमा २१ औं राष्ट्रिय प्रतियोगिताका बिजेता पुरुषोत्तम चौलागाईलाई खेलको ४१ औं चालमा सफलता हात पारे भने छैटौं चरणको खेलमा पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठखाई ४६ औं चालमा निराश बनाए।
फिडे मास्टर क्षितिज भण्डारी साढे ४ अंक सहित तेस्रो स्थानमा रहेका छन् । शुक्रबार क्षितिजको लागि राम्रो रह्यो । झापाका राजन सुवेदीसंग पाँचौ चरणको खेलमा बराबरी खेलेका क्षितिजले छैटौं चरणको खेलमा दोलखाका राजिव कार्कीमाथि जित हात पारे।
नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा झापाका राजन सुवेदीको ४ अंक रहेको छ।
महिलातर्फ फिडे मास्टर सुजना लोहनीले छैटौं चरणसम्मको खेलमा ६ अंक सहित फराकिलो अग्रता बनाएकी छिन् ।
उनले पाँचौ चरणको खेलमा काठमाडौंका विनिता कपालीलाई पराजित गरिन् भने छैटौं चरणको खेलमा झापाका पुनम प्रसाईलाई पराजित गरिन् ।
त्यसैगरी पर्साका सुशिला गुरुङ साढे ४ अंक सहित दोस्रो स्थानमा छन् भने मोरङका शान्ति धिमालले ४ अंक जोडेका छन्।
एक खेल बराबरी र अर्कोमा बाजि मारेका सुशिलाले पाचौं चरणमा कास्कीका पूजा भण्डारीलाई पराजित गरे भने छैटौं चरणको खेलमा रिया श्रेष्ठसंग अंक बाँडे। शान्तिले दुवै खेलमा जित हात पार्ने क्रममा पाँचौ चरण रिया श्रेष्ठ र छैटौं चरणको खेलमा विनिता कपालीला हराएका थिए। काठमाडौका रिया श्रेष्ठले साढे ३ अंक जोडेका छन्।
लाजिम्पाट हेटेल ले हिमालयमा भइरहेको प्रतियोगितामा शनिबार सातौं र आठौं चरणका खेलहरु हुनेछ ।