काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा मंगलबारबाट नेसनल चेस च्याम्पियनसिप सुरु भएको छ ।
काठमाडौं लाजिम्पाटस्थित होटल ले हिमालयमा मंगलबार खुल्लातर्फ उच्च रेटेड खेलाडी फिडे मास्टर रुपेश जैशवाल, अर्का फिड मास्टर क्षितिज भण्डारी ,पूर्व नेपाल च्याम्पियन सूरविर लामा, झापाका राजन सुवेदी युवा खेलाडी पुरुषोत्तमले जित निकालेका छन्।
रुपेशले झापाका प्रकाश नेपाललाई पराजित गरे भने क्षितिजले ललितपुरका राजन पुरीलाई हराए। त्यसैगरी सुरविरले केशव श्रेष्ठ , राजन सुवेदीले पुरुषोत्तम चौलागाईं र पुरुषोत्तम सिलवालले दोलखाका राजिव कार्की माथी सफलता हात पारे।
महिला र खुल्ला गरि दुई विधामा भएको प्रतियोगितामा महिलातर्फ पहिलो वरियताका फिडे मास्टर सुजना लोहनी, शान्ति धिमाल, धिमाल, शुसिला गुरुङले पहिलो चरणको खेलमा बाजि मार्न सफल भइन्। सुजनाले मार्सल तामाङलाई पन्छाउन सफल भइन् । त्यस्तै शान्तिले पुर्व नेपाल च्याम्पियन समेत रहेका काठमाडौका सिन्दिरा जोशीलाई पराजित गरिन् भने शुसिलाले झापाका पुनम प्रसाईंलाई पराजित गरिन्।
प्रतियोगिताको उद्घाटन राष्ट्रियसभाको अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गरेका थिए ।
च्याम्पियनसिपका विजेताले आगामी मे १ देखि ११ सम्म बंगलादेशको ढाकामा आयोजना हुने फिडे जोन ३.२ चेस च्याम्पियनसिप एवं कजकस्तानको आस्थानामा जुन ५ देखि १५ सम्म हुने एशियन कन्टिनेन्टलमा सहभागीता जनाउने छन् ।
त्यसैगरी २०२४ मा हंगेरीको बुढापेस्टमा हुने ४५ औं चेस ओलम्पियाडमा समेत सहभागिता सुनिश्चित गर्नेछन् । प्रत्येक वर्ष आयोजना हुने नेसनल च्याम्पियनसिपमा शीर्ष ३ मा रहने खेलाडीले आगामी वर्ष हुने २३ औँ नेशनल तथा आठौं वुमन नेशनल च्याम्पियनसिपमा सहभागिता सुनिश्चित गर्ने छन् भने अन्य खेलाडीले नेसनल 'बी' मा प्रतिस्पर्धा गर्नु पर्नेछ ।