पोखरा । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुल (साग) को प्रचार प्रसार र साग सफलताका लागि खेलाडीहरुले आइतबार र्याली निकालेका छन्। यस्तै खेलाडीले विन्ध्यवासिनी मन्दिर पुगेर सागको भव्य सफलताको कामना गरेका छन् ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती र कास्की जिल्ला खेलकुद बिकास समितीको संयूक्त आयोजनामा भएको बाजा गाजा र १३ औं सागको व्यानर सहित पोखरा रंगशाला बाट निस्किएको र्याली विन्ध्यवासिनी मन्दिर पुगेर सम्पन्न भएको थियो ।
नेपालीहरुको महान पर्व बडा दशैं घटस्थापनाको दिन पारेर पोखरामा बन्द प्रशिक्षणमा रहेका ह्याण्डबल खेलाडी लगाएत अन्य खेलका खेलाडी प्रशिक्षक र पदाधिकारीहरु र्यालीमा सहभागी भएका थिए ।
उक्त र्याली पोखरा रंगशाला, पृथ्वीचोक, न्यूरोड, गणेशटोल, मोहरिया टोल हुँदै विन्द्यवाशिनी मन्दिर पुगेर सम्पन्न भएको थियो । र्यालीको नेतृत्व राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले गरेका थिए ।