काठमाडौं । पाणिनीले दोश्रो अन्तरविद्यालय फाइभ ए साइड शिक्षक फुटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।
काँडाघारीस्थित अर्किड स्कुलको मैदानमा भएको फाइनलमा पाणिनीले बोधी सदनलाई २–१ गोलले पराजित गर्यो । विजयी टिमका लागि सुनील लामाले २ गोल गरे । सुनीलले प्रतियोगिताभर १४ गोल गरे ।
एनप्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा पाणिनीले एजीएमलाई ४–१ तथा बोधी सदनले अर्किडलाई ६–१ गोलले हराउदै उपाधि भिडन्त पक्का गरेका थिए । विजेताले १५ हजार मुल्यको खसी तथा दोश्रोले १३ हजार मुल्यको खसी पुरस्कार स्वरुप पाए ।
विजेतालाई एन प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटा, एनप्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीका अध्यक्ष अमृतकुमार खड्का, कोषाध्यक्ष प्रेमकुमार भुजेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा १६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।