पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भोलि बुधबारबाट ट्रायथोलन सुरु हुने भएको छ ।
प्रतियोगिता अन्तर्गत बुधबार ट्रायथोलन र बिहीबार दुवाथालनका खेलहरु हुने नेपाल ट्रायथोलन संघका महासचिव जगत धौलीले जानकारी दिए ।
धौलीका अनुसार दुवै खेल अन्तर्गत महिला र पुरुष गरी दुई छुट्टाछुट्टै इभेन्टमा खेल हुनेछन् । जसमा ट्रायथोलनमा ११ पुरुष र ८ महिला गरी १९ जनाले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा शसस्त्र प्रहरीको एपीएफ क्लबबाट ४, आर्मी ३, गण्डकी प्रदेश ३, मधेश प्रदेश २, नेपाल पुलिस क्लब २, कर्णाली प्रदेश १, लुम्बिनी प्रदेश १, प्रदेश नम्बर एक १, एनआरएनए १ र वागमती प्रदेशबाट १ जना खेलाडी सहभागी छन् ।
त्यसैगरी दुवाथोलनमा १४ पुरुष र ५ महिला गरी १९ जना खेलाडीले सहभागीता जनाउने जनाइएको छ । जसअन्तर्गत शसस्त्र प्रहरीको एपीएफ क्लवबाट ४, त्रिभूवन आर्मी ४, गण्डकी प्रदेश ३, प्रदेश नम्बर एकबाट ३, लुम्बिनी प्रदेशबाट २, वागमती प्रदेशबाट १, नेपाल पुलिस क्लबबाट १ र कर्णाली प्रदेशबाट १ जना खेलाडीले सहभागिता जनाउन लागेका हुन् ।
पोखराको लेकसाईडको अम्बोटबाट शुरु हुने उक्त प्रतियोगितामा ट्रायथोलन अन्तर्गत बसुन्धरा पार्क स्थित फेवा तालमा ७ सय ५० मिटर पौडी, अम्बोटदेखी बिरौटासम्म २० किमी साइक्लिङ (५राउण्ड) र लेकसाइडको स्ट्रेट नम्बर १० देखी बिरौटासम्म ५ किलोमिटर दौड हुनेछन् भने दुआथलन तर्फ सोही स्थानमा ५ किमि दौड, २० किमि साईक्लिङ र पुनः साढे दुई किमि दौड हुने संघका महासचिव जगत धौलीले जानकारी दिए ।