काठमाडौं । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कास्य पदक जितेको छ ।
पोखरा रंगशालामा मंगलबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्दै बागमतीले कास्य पदक जितेको हो ।
लुम्बिनी प्रदेशले दिएको ८८ रनको लक्ष्य बागमती प्रदेशले १६ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । बागमतीको जितमा सुमन खतिवडाले अविजित ४१ तथा अस्मिता खरेलले २० रन बनाईन् ।
अनिशा मजाकोटी अविजित १० रन बनाउँदा कंचन श्रेष्ठले पनि समान १० रन बनाईन् । लुम्बिनीका लागि कृतिका मरासिनीले २ तथा सुस्मिता भुषालले १ विकेट लिईन् ।
त्यस अघि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनायो । लुम्बिनीका लागि कप्तान सरस्वती जीएमले ३० रन बनाउँनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमतीले १३ रन अतिरिक्तका रुपमा खर्चियो ।
बागमतीका लागि विपिशा शाहीले ४ तथा खुसी डंगोलले ३ विकेट लिएका थिए । सोनी पाख्रिनले २ विकेट लिईन् ।
आज नै स्वर्णका लागि दुई विभागिय टोली नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब खेल्दै छन् ।