पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलनमा विभागीय टिम हावी भएको छ । प्रतियोगिताको दोस्रो दिनको खेलसम्म नेपाल पुलिसले ४ र नेपाल आर्मीले ३ स्वर्ण हात पारेका छन् ।
प्रतियोगिताको दोस्रो दिन सोमबार पहिलो खेलमा महिला ५५ केजी तौल समूहतर्फ पुलिसकी टीकामाया गुरुङले स्वर्ण जितिन् । उनले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४० केजी भार बहन गर्दै स्वर्ण जित्न सफल भएको नेपाल भारत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए ।
यस्तै, नेपाल आर्मीकी प्रभा थारुले न्याचमा ५८ र क्लीन एण्ड जर्कमा ७१ गरी कुल १२९ केजी भार उठाउँदै रजत जितिन् भने लुम्बिनी प्रदेशकी कृष्णकला बिष्टले कास्य जितिन् । उनले स्न्याचतर्फ ५६ र क्लीन एण्ड जर्कमा ७२ गरी कुल १२८ केजी तौल उठाउन सकिन् । उनी प्रभाको तुलनामा १ केजीमात्र भार कम उठाउँदा कास्यमा सीमित भएकी हुन् ।
पोखरा उद्योग वाणिज्य संघमा भएको प्रतियोगितामा महिला ५९ केजी तौल समूहमा आर्मीकी कमला श्रेष्ठले स्वर्ण जितिन् । उनले स्न्याचतर्फ ६८ र क्लीन एण्ड जर्कमा ८५ गरी कुल १५३ तौल भार बहन गरेकी थिइन् । रजत जितेकी नेपाल पुलिसकी देवीकुमारी चौधरीले स्न्याचतर्फ ५८ र क्लीन एण्ड जर्कमा ७० गरी कुल १२८ तौल भार बहन् गरिन् भने कास्य जितेकी नेपाल आर्मीकै अस्मिता पुलामी मगरले कुल १२३ केजी तौल उठाइन् । उनले स्न्याचमा ५३ र क्लीन एण्ड जर्कतर्फ ७० केजी भार बहन गरेकी हुन् ।
सोमबारकै पुरुष ६७ केजी तौल समूहमा नेपाल आर्मीले स्वर्ण जित्न सफल भयो । आर्मीका कमलबहादुर अधिकारीले स्न्याचमा ९५ र क्लीन एण्ड जर्कमा १३० गरी कुल २२५ केजी भार बहन गरी आर्मीलाई तेस्रो स्वर्ण दिलाएका हुन् । प्रतियोगितामा आर्मीकै मुक्तिराम घले र सुदूरपश्चिमका अशोकसिंह भण्डारीले कास्य जिते । मुक्तिरामले स्न्याचतर्फ ९० र क्लीन एण्ड जर्कमा ११९ गरी कुल २०९ तथा अशोकले स्न्याचतर्फ ९२ र क्लीन एण्ड जर्कमा ११६ गरी कुल कुल मुक्तिरामभन्दा मात्र १ केजी कम अर्थात् २०८ केजी तौल उठाउँदा कास्यमा सीमित भए । सोमबारकै चौथो तथा अन्तिम खेल पुरुष ७३ केजी तौल समूहमा रातिसम्म खेल भइरहेको छ ।
कात्तिक २ सम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०÷१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् । प्रतियोगितामा २० स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ ।
पहिलो दिन आइतबारको खेलमा पुरुष ६१ केजी तौल समूहमा नेपाल पुलिसका मुई लामा, महिला ४९ केजी तौल समूहमा नेपाल पुलिसकी संगीता राई, पुरुष ५५ केजी तौल समूहमा आर्मीका तुलाराम महतो र महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले स्वर्ण जितिसकेका थिए ।