काठमाडौं । पहिलो संस्करणको कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितालाई सम्झना ल्याबले प्रायोजन गरेको छ ।
आयोजकले आइतबार सम्झना ल्याबसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ । प्रतियोगिताका संयोजक रवि महर्जन र सम्झना ल्याबका डिरेक्टर रजना श्रेष्ठ जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै सम्झनाले प्रतियोगिताका लागि १० लाख नगद उपलब्ध गराउने छन् ।
नेपाल कराते महासंघको तत्वावधान तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ र जिल्ला प्रमुख डोजो ललितपुरको आयोजनामा हुने प्रतियोगिता चैत २४ देखि २६ गतेसम्म हुनेछ ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ) गरी १० टिमको सहभागिता रहने छ ।
महिलामा १० तौल समूह ४५,५०,५५,६१,६८ केजी तौल मुनि र ६८ तौल माथिको एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ ।
पुरुषमा ५०,५५,६०,,६७,७५,८४ केजी तौल मुनि र ८४ केजी माथि एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ ।
एकल र टिम कातासहित पुरुषमा ११ तथा महिलामा १० गरी २१ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पुरुषमा १ सय १० र महिलामा १ सय गरी २ सय १० खेलाडीको सहभागिता रहने छ ।
टिम च्याम्पियनलाई १ लाख नगद पुरस्कार दिइने छ । उपविजेता टिमले ५० हजार पाउने छन् ।
उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई १५-१५ हजारबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
यसै प्रतियोगिताबाट प्रत्येक तौलसमूहबाट ४ खेलाडी छनोट गरेर राष्ट्रिय टिमको तयारी गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते हलमा हुनेछ ।