काठमाडौं । पल्सर शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (सोमबार)बाट बाह्रौ चरणका खेल सुरु हुदैछ । पहिलो दिन तीन खेल हुनेछ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा बिहान ११ बजे खेलमा एनआरटी र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
लिगको सुरुवातबाटै पुछारबाट माथि उक्लिन नसकेको एनआरटीलाई आज अवसर प्राप्त छ । तालिकामा स्थान सुधार गर्ने दुवै टोलीको लक्ष्य छ ।
एनआरटी ५ अंक सहित तालिकाको पुछारमा छ । मछिन्द्र ६ अंक सहित तालिकाको १२ औ स्थानमा छ ।
सोही मैदानमा दिउँसो साँढे २ बजे फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाईज भिड्नेछन् ।
लयमा देखिन संघर्षरत दुवै टोली तालिकाको पुछारबाट माथि उक्लिन चाहन्छन् । फ्रेन्ड्स ९ अंक सहित तालिकाको एघारौँ स्थानमा रहदाँ ब्रिगेड ६ अंक सहित तालिकाको १३ औ स्थानमा छ ।
आजै हुने अर्को खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो साँढे २ बजे हुने खेल एपीएफको हलचोक मैदानमा हुनेछ ।
विभागीय टिम आर्मीलाई लिगको शीर्ष तीन भित्र उक्लिने अवसर प्राप्त छ । आर्मी २१ अंक सहित तालिकाको चौथो स्थानमा छ ।
जावलाखेल ११ अंक सहित तालिकाको नवौ स्थानमा छ ।