काठमाडौं । घरेलु फुटलबको सर्वाधिक सफल क्लब हो, मनाङ । कीर्तिमानी ७ पटक उपाधि जितेको विरासत उसंग छ ।
मनाङमा उपाधिको भोक गज्जब भेटिन्छ । सायद त्यही भोकले उसलाई घरेलु फुटबलमा सफल क्लब बनाएको हुनपर्छ ।
मनाङ फेरी एक कीर्तिमानी सफलताको नजिक छ । पाँच बर्षपछि फर्किएको घरेलु लिगको उपाधि उचाल्न उसलाई मात्र एक जित आवश्यक छ ।
३ अंक जोड्न सके मनाङले दुई खेल अगावै प्रतियोगिताको सबै रोमाञ्चकता आफ्नो सफलतामा कैद गर्नेछ ।
मनाङले लिग चरणको एघारौ खेलमा आज संकटा क्लबसंग प्रतिस्पर्धा गर्दैछ । एन्फा कम्प्लेक्समा दिउँसो साढे २ बजे हुने खेलमा मनाङले संकटालाई हराउन सके कीर्तिमानी आठौ पटक उपाधिमा कब्जा गर्नेछ ।
रेलिगेशन बिनाको लिग भएकाले क्लबहरुलाई घटुवाको चिन्ता छैन । सबैको नजर लिगको उपाधिमा छ । ठुलो क्लबहरु शीर्ष ३ भित्र रहँदै प्रतियोगिताको अन्त्य गर्न चाहन्छन् ।
लिगको रोमाञ्चकतालाई अन्तिम सम्म बचाई राख्ने जिम्मेवारी संकटाको काँधमा छ । आजको खेलमा संकटाको हात माथि परे लिगको रोमाञ्चकता अन्तिम खेलसम्म जान सक्छ । त्यसले संकटाको लिग जित्ने गणितिय सम्भावना समेत बाँकी रहनेछ ।
मनाङ १० खेलबाट ३० अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको संकटाको २५ अंक छ ।
आजै हुने पहिलो खेलमा विभागीय टिम एपीएफ र च्यासल युथ क्लब भिड्नेछन् । खेल बिहान ११ बजे सुरु हुनेछ ।