ललितपुर । विभागीय टोली त्रिभुवन आर्मी क्लब ललित स्मृति यु – १८ फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा मोरङ फुटबल क्लबलाई २ – १ गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीलाई जित दिलाउन सेसेहाङ आङदेम्बेले एक गोल गरे । आर्मीले एक गोल आत्मघाती उपहार पाएको थियो । मोरङका अजय मण्डलले आत्मघाती गोल गर्दा मनिस थापाले एक गोल फर्काए ।
पहिलो हाफको १० औं मिनेटमा अजयको आत्मघाती गोलबाट आर्मीले सुरुवाती अग्रता बनाएको थियो । खेलको ५५ औं मिनेटमा मनिसको गोलबाट मोरङ खेलमा फर्कियो । तर, खेलको इन्जुरी समयमा सेसेहाङले गोल गर्दै आर्मीलाई २ – १ को महत्वपूर्ण जित दिलाए ।
अब आर्मीले उपाधिको लागि ब्रिगेड ब्वाईज र फ्रेन्ड्स क्लबबीचको बिजेतासंग खेल्ने छ ।
यसअघि मोरङले क्वार्टरफाईनलमा च्यासल युथ क्लबलाई पराजित गर्दै सेमिफाईनल यात्रा तय गरेको थियो । आर्मीले हिमालय शेर्पा क्लबलाई हराउदै अन्तिम ४ मा मोरङसंगको भेट पक्का गरेको थियो ।