एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत आज (आइतबार) दुई खेल हुँदैछ ।
प्रिमियर लिग अन्तर्गत आइतबार एभर्टन र बर्नेमाउथ तथा टोटेनहम र म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।
एभर्टनले घरेलु मैदानमा बर्नेमाउथको सामना गर्नेछ । बेलुका ८ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।
एभर्टन र बर्नेमाउथको समान २७/२७ अंक रहेको छ । एभर्टन ११ औं स्थानमा रहदा बर्नेमाउथ १२ औं स्थानमा छ ।
यस्तै लिगको तेस्रो स्थानको टोटेनहमले म्यानचेस्टर युनाइटेडसंग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । टोटेनहम र युनाइटेडबीचको खेल राति १०:१५ मा सुरु हुनेछ ।
घरेलु मैदानमा युनाइटेडविरुद्ध मैदान उत्रदा टोटेनहमले जितसहित दोस्रो स्थानमा उक्लने लक्ष्यमा हुनेछ । ४८ अंक जोडेको घरेलु टोली युनाइटेडलाई हराएर लिभरपुलसंगको अंक दुरी कम गर्न चाहन्छ ।
यता, युनाइटेड भने घरेलु टोलीलाई स्तब्ध बनाउदै आफ्नो जितको यात्रा कायम राख्ने लक्ष्यमा हुनेछ । यस्तै युनाइटेड पाँचौ स्थानको आर्सनलसंग अंक बराबरी गर्न चाहन्छ । लिगको छैटौं स्थानको युनाइटेडको ३८ अंक छ ।