काठमाडौँ। पार्क डेस प्रिन्सेसमा मंगलबार राति रेफ्रीले ‘ह्विसिल’ बजाएसँगै पेरिस सेन्ट जर्मन (पीएसजी)का फरवार्ड केलियन एम्बाप्पे निराश देखिए।
पूरा समय मैदानमा बिताएका उनले खेल सकिएसँगै टाउको निहुराएर र तिघ्रामा हात राखेर अगाडि झुके। उनी यसरी निराश देखिनुको एकै कारण थियो, पीएसजी च्याम्पियन्स लिगबाट बाहिरिनु।
सन् २०१७ मा पीएसजी भित्रिएका एम्बाप्पे क्लबलाई पहिलो च्याम्पियन्स लिग जिताएर सुखद् बिदाइ लिने तयारीमा थिए। तर, उनले भनेजस्तो फिटिक्कै भइदिएन।
सिग्नल इडुना पार्क भएको सेमिफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमन्डका निकलस फुलक्रगले निर्णायक गोल गरेका थिए। त्यसैले पीएसजीलाई मंगलबार राति पार्क डेस प्रिन्सेसमा घरेलु समर्थकसामु उक्त नतिजा उल्टाउँदै आफ्नो सपना साकार गर्ने सुनौलो अवसर जुरेको थियो।
एक त घरेलु मैदान अर्को आफ्नो स्टार खेलाडीलाई सुखद् बिदाइ गर्न तम्तयार रहेका सहकर्मी। त्यसैले पीएसजीका प्लेइङ सेटमा रहेका सबै खेलाडीले सानदार प्रदर्शन गरे। दोस्रो लेगमा लगभग ७० प्रतिशत बल ‘पोसिसन’मा लिएपनि पीएसजीले डर्टमन्टविरुद्धको उक्त नतिजा उल्टाउन सकेनन्।
पीएसजीले नराम्रो खेलेको भने पक्कै होइन। शुरूआतदेखि नै आक्रामक खेल खेलेको पीएसजीले डर्टमन्टको पोस्टमा ३० प्रहार गरेको थियो। तर, बारम्बार चुकेको पीएसजीले जम्मा ५ प्रहार मात्रै ‘टार्गेट’मा राख्न सक्यो। त्यसलाई पनि सदुपयोग गर्न नसकेको पीएसजी पुनः सोही स्कोरमा पराजित भयो।
अर्थात् ५०औँ मिनेटमा जुलियन ब्रान्डको पासमा म्याट्स हुम्लेसले गरेको गोल नै डर्टमन्टका लागि निर्णायक साबित भयो। समग्रमा २–० गोल अन्तरले पीएसजी पराजित भयो र तेस्रो पटक सेमिफाइनलबाटै बाहिरियो।
‘हामी सधैँ पीएसजीमा जित्न चाहन्छौँ। तर, हामी अहिले दुःखी छौँ,’ एमबाप्पेले मंगलबारको हारपछि भने, ‘हामीले गोल गर्नुपर्थ्यो। हामीसँग गोल गर्ने मौका थियो। तर, गर्न सकेनौँ।’
सन् १९९४ मा च्याम्पियन्स लिगमा डेब्यू गरेको पीएसजी सेमिफाइनलमा पुगेको थियो। त्यसयता १५ पटक सोही प्रतियोगितामा सहभागिता जनाएको पीएसजी सन् २०२० मा पहिलो पटक उपाधिनजिक पुगेको थियो।
तर, अर्जेन्टिनी कप्तान लिओनल मेसी, अर्टेन्टिनाकै विंगर एन्जेलो डी मारिया, ब्राजिलका फरवार्ड नेयमार, ब्राजिलकै डिफेन्डर थियागो सिल्भा र एम्बाप्पेजस्ता सुपरस्टार खेलाडीको साथ पाएको पीएसजी उपाधि भिडन्तमा भने जर्मन क्लब बायर्न म्युनिखसँग १–० ले पराजित हुँदै उपविजेतामा सीमित भयो।
अर्को सिजन पुनः सेमिफाइनलमा पुगेको पीएसजी त्यसपछिका दुई सिजन लगातार अन्तिम १६ बाटै बाहिरियो।यसपटक पीएसजीमा पहिलाजस्तो सुपरस्टार खेलाडी थिएनन्।
भएका खेलाडीले पनि राम्रो प्रदर्शन गर्दै पीएसजीलाई यहाँसम्म नपुर्याएका भने होइनन्। त्यसैले होला पीएसजीका प्रशिक्षक लुइस एनरिके आफ्नो टोलीको प्रदर्शनबाट त्यति निराशमा देखिएनन्। ‘टचलाइन’मा उभिएका उनी मैदान प्रवेश गरे र एम्बाप्पेलाई सान्त्वना प्रदान गरे। त्यसपछि उनका स्टार स्ट्राइकर मैदानबाट बाहिर निस्किए।
एम्बाप्पेले अबको गन्तव्यबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिएनन्। पीएसजी सेमिफाइनलबाटै बाहिरिँदा १४औँ पटक च्याम्पियन्स लिग उपाधि जितिसकेको स्पेनिस क्लब रियल मड्रिड भने बुधबार सम्पन्न अर्को सेमिफाइनलमा बायर्न म्युनिखलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ।
१५औँ उपाधि जित्ने लक्ष्यमा रहेको रियलले समग्रमा बायर्नलाई ४–३ गोल अन्तरले पराजित गरेको हो। जर्मनीमा भएको सेमिफाइनलको पहिलो लेगमा यी दुई टोलीले २–२ गोलको बराबरी खेलेका थिए।
रियलले यसअघि एम्बाप्पेलाई भित्र्याउने प्रयास गरेको थियो। उक्त प्रयास सफल भइदिएको भए एम्बाप्पेको सम्भवतः पहिलो च्याम्पियन्स लिग जित्ने सपना साकार भइसकेको हुन्थ्यो।
सन् २०१८ को विश्वकप विजेता फरवार्डलाई भित्र्याउन रियलले २०२१ मा १८० मिलियन युरो (१९४ मिलियन अमेरिकी डलर)को प्रस्ताव गरेको थियो। तर, उक्त प्रस्ताव पीएसजीले ठाडै अस्वीकार गर्दियो। यसै वर्षको शुरूमा उनले पीएसजीलाई सिजनको अन्त्यमा क्लब छोड्न लागेको जानकारी दिएका थिए।
सन् २०१७ को ग्रीष्मऋतुमा एम्बाप्पे मोनाकोबाट अनुबन्धित हुँदा पीएसजीले १७० मिलियन युरो (१८३ मिलियन डलर) शुल्क तिरेको थियो। यस्तै, ब्राजिलियन सुपरस्टार नेयमारलाई भने पीएसजीले विश्व कीर्तिमानी २०० मिलियन युरो (२३९ मिलियन डलर) खर्च गरेको थियो।
यसअघि ज्लाटन इब्राहिमोभिच (क्लबका लागि १५६ गोल), एडिन्सन काभानी (पीएसजीका लागि २०० गोल) र लिओनल मेसी (आठौँ पटकको बालोन डी’ओर विजेता) लाई पनि पीएसजीले भित्र्याइएको थियो। ठूलो लगानी र ठूलो पारिश्रमिकका बाबजुद पनि पीएसजीले च्याम्पियन्स लिग भने जित्न सकेन।
मोनाकोमा रहँदा एम्बाप्पेले १८ वर्षको उमेरमा सनसनीपूर्ण प्रदर्शन गरेका थिए। उनकै उत्कृष्ट प्रदर्शनमा मोनाको च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको थियो। क्वार्टरफाइनलमा त जर्मन क्लब डर्टमन्डलाई मोनाकोले समग्रमा ६–३ गोल अन्तरले पराजित गर्यो।
फ्रान्सका लागि ४६ गोल गरिसकेका ग्लोबल सुपरस्टार र पुरुष विश्वकपको फाइनलमा ह्याट्रिक गरेका एम्बाप्पे दुई वर्षअघि प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्न सफल भएका थिए।
‘मैले आफ्नो टोलीलाई सक्दो सहयोग गर्ने कोसिस गरेँ। तर, मैले पर्याप्त गर्न सकिनँ। म त्यो व्यक्ति हुँ, जसले गोल गर्नुपर्छ र निर्णायक हुनुपर्छ। तर, मैले सकिनँ,’ उनले भने।