इलाम। सन्दकपुर गाउँपालिकालाई हराउँदै डिफेन्डिङ च्याम्पियन इलाम नगरपालिका दोस्रो माईजोगमाई गाउँपालिका अध्यक्ष कप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ।
प्रतियोगिताको उद्घाटन खेलमा इलामले सन्दकपुरलाई सडनडेथमा हराएको हो। निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए।
खेलमा बराबरी भएपछि निर्णयका लागि पेनाल्टी सुटआउट रोजिएको थियो। पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले जित निकाल्दै इलामले अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो।
इलामको जितमा कप्तान प्रदीप विष्ट, पासाङ शेर्पा, सविन मगर, प्रिन्स शेर्पा, नितेश गुरुङ र साङ्गे शेर्पाले गोल गरे।सन्दकपुरका राकेश मगर, अविशेक राई, निशान राई, मदन मगर र रोजन घलेले गोल गरे।
गोलरक्षक पुजन गुरुङको प्रहार इलामका गोलरक्षक आङ्पेल शेर्पाले बचाए। खेलको म्यान अफ दि म्याच इलामका गोलरक्षक शेर्पा घोषित भए।
जितसँगै इलामले माङसेबुङ गाउँपालिकासँग खेल्नेछ। प्रतियोगिताको दोस्रो प्रि–क्वार्टरफाइनल खेलमा फाकफोकथुम गाउँपालिका र सूर्योदय नगरपालिका प्रतिस्पर्धा गर्नेछन्।
माईजोगमाई गाउँपालिका खेलकुद विकास परिषद्को आयोजनामा बालागुरु खेलमैदानमा आगामी बैशाख ३१ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले २ लाख ११ हजार १ सय ११ र उपविजेताले १ लाख २१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ।