काठमाडौँ। मंगलबार राति पार्क डेस प्रिन्सेस मैदानमा उत्रँदा फ्रेन्च स्ट्राइकर केलियन एम्बाप्पेलाई ताली बजाएर स्वागत गरिनेमा कुनै शंका छैन। पेरिस सेन्ट जर्मन (पीएसजी)को जर्सीमा एम्बाप्पेका लागि फ्रान्सको राजधानी पेरिसमा हुने च्याम्पियन्स लिगको यो अन्तिम खेल हुनेछ।
जुन १ मा वेम्बलीमा च्याम्पियन्स लिगको उपाधि जित्दै एम्बाप्पे ७ सिजनपछि पीएसजीसँगको यात्रा समाप्त गर्ने लक्ष्यमा रहेका छन्। गत साता जर्मनीमा भएको पहिलो लेगमा पीएसजी घरेलु टोली बोरुसिया डर्टमुन्डसँग १–० गोल अन्तरले पछि परेको थियो।
पहिलो लेगमा पछि परेसँगै फ्रान्सेली स्ट्राइकर निराश देखिएका थिए। त्यसैले पीएसजी र एम्बाप्पे डर्टमन्डविरुद्ध उक्त नजिता उल्टाउने लक्ष्यमा हुनेछ। प्रशिक्षक लुइस एनरिक खेलमा पुनरागमन गर्नमा मिडफिल्डको भूमिका अहम् हुने बताउँछन्।
‘मैले प्रशिक्षकको रूपमा काम शुरू गरेदेखि नै मेरो लक्ष्य भनेको हाम्रा उत्कृष्ट खेलाडीले च्याम्पियन्स लिगमा सहभागिता जनाउनु हो। उनीहरूले जति धेरै खेलमा भाग लिन्छन्, त्यति नै राम्रो हुन्छ,’ उनले सोमबार अनुवादकमार्फत भने, ‘म मिडफिल्डमा गएर स्ट्राइकरले बल प्राप्त गरोस् भन्ने चाहन्न।’
पीएसजीमा रहँदा एम्बाप्पेलाई उस्मान डेम्बेले, ब्राडली बारकोला, गोन्कालो रामोस र रान्डल कोलो मुआनीजस्ता खेलाडीले बलियो साथ दिएका छन्। फ्रान्सेली सञ्चारमाध्यमसँग कुरा गर्दै एम्बाप्पेले टोली सन्तुलित भएको कारण दोस्रो लेगमा पीएसजीले पुनरागमन गर्नेमा आफू आशावादी रहेको बताए। ‘हामी पुनरागमन गर्नेछौँ र फाइनलमा पुग्नेछौँ भन्नेमा म विश्वस्त छु,’ उनले भने।
बायर्न म्युनिखका पूर्वडिफेन्डर लुकास हर्नान्डेज घाइते छन्। सिग्नल इडुना पार्क बुधबार राति सम्पन्न च्याम्पियन्स लिगअन्तर्गत डर्टमन्डविरुद्धको सेमिफाइनलको पहिलो लेगमा उनको बायाँ घुँडाको एन्टिरियर क्रूसिएट लिगामेन्ट (एसीएल)मा चोट लागेको थियो।
उक्त चोटको शल्यक्रिया गर्नुपर्ने भएका कारण २८ वर्षीय हर्नान्डेजले डर्टमन्डविरुद्धको खेल गुमाउने पक्का भएको छ। त्यसैले प्रशिक्षक एनरिकेलाई डिफेन्समा थप चिन्ता थपिएको छ।
यस सिजन १४ गोल खाएको पीएसजीका लागि यो चोट निकै ठूलो धक्का हो। यसअघि मार्क्विनहोस र हर्नान्डेजको जोडीले पीएसजीको डिफेन्स लाइनलाई स्थिर राख्दै आएका थिए।
गत साता डर्टमन्डविरुद्धको खेलमा हर्नान्डेज घाइते भएपछि उनको स्थानमा लुकास बेराल्डोलाई मैदान उतारिएको थियो। यद्यपि, उक्त खेलमा ब्राजिलियन ‘सब्स्टिच्युट’ खेलाडीमा अनुभवको कमी देखिएको थियो।
एनरिकले मंगलबारको खेलमा उनलाई प्लेइङ ११ मा स्थान दिने सम्भावना कम छ। यता, मिलान स्क्रिनियार चोटबाट फर्केका छन्। यद्यपि, उनी लय देखिएका छैनन्। पीएसजीसँग अर्को विकल्पको रूपमा डानिलो परेरा पनि छन्। उनी मार्क्विनहोससँग डिफेन्स लाइनमा उत्रिन सक्छन्।
यस सिजन युरोपियन स्टेजमा उत्कृष्ट आक्रामक खेल प्रस्तुत गरिरहेको पीएसजीका लागि ठोस डिफेन्डर महत्त्वपूर्ण हुनेछ। यस खेलमा पुनरागमन गरे पीएसजीले लन्डनमा हुने फाइनलमा स्पेनिस क्लब रियल मड्रिड या जर्मन क्लब बायर्नसँग खेल्नेछ। जर्मनीमा भएको सेमिफाइनलको पहिलो लेगमा यी दुई टोलीले २–२ गोलको बराबरी खेलेका थिए।
पीएसजी पहिलोपटक सन् २०२० मा फाइनलमा पुगेको थियो। तर, उपाधि भिडन्तमा बायर्नसँग १–० गोल अन्तरले पराजित भएसँगै उपविजेतामा सिमित भयो। डर्टमन्डले सन् १९९७ मा पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो।
पछिल्लोपटक डर्टमन्ट सन् २०१३ मा फाइनल पुगेको थियो। तर, फाइनलमा बायर्नसँग २–१ गोल अन्तरले पराजित हुँदै डर्टमन्डले उपविजेतामा चित्त बुझाएको थियो।