काठमाडौँ। मिडिफल्डर फत्तेमान घलेलाई पहिलो पटक समेट्दै मुख्य प्रशिक्षक अल्बर्टो भिन्सिन्जो एनिसले इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्ने टोली घोषणा गरेका छन्।
एनिसले सोमबार गोलरक्षक किरणकुमार लिम्बुको कप्तानीमा २३ सदस्सीय टोलीको घोषणा गरेका हुन्। टोलीमा किरणसँगै अभिषेक बराल र विशाल सुनार ब्याकअप गोलरक्षकमा रहेका छन्।
छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ र रोहित चन्दले रक्षकको भूमिका सम्हाल्ने छन्।
यस्तै, फत्तेमानसहित मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी र लाकेन लिम्बु मिडफिल्डमा रहेका छन्।
फरवार्डमा दिनेश हेन्जन, अञ्जन विष्ट, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समीर तामाङ र सञ्जीव विष्टले निरन्तरता पाएका छन्।
नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो पटक इङ्ल्यान्ड ‘सी’ सँग प्रतिस्पर्धा गर्न लागेको हो। अल्डरसट टाउन एफसीले आफ्नै स्टेडियम इबीबीमा आउँदो मे ६ तारिख सोमबार दुई टोलीबीच मैत्रीपूर्ण फुटबल गराउने छ।
नेपालसँग प्रतिस्पर्धा गर्न लागेको इङ्ल्यान्ड ‘सी’ राष्ट्रिय टोलीकै मान्यता प्राप्त टोली हो। यो टोलीले इङ्ल्यान्डको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकसँग मैत्रीपूर्ण खेल खेल्दै आएको छ।
दुई देशबीच हुने खेलका लागि अल्डरसट टाउन फुटबल क्लबले एन्फा र इङ्ल्यान्ड फुटबल एसोसिएसनसँग सम्झौता गरिसकेको छ।